६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

तिलोत्तमामा गज्जवको सुविधाः संक्रमितको शव व्यवस्थापनदेखि निःशुल्क पीसीआरसम्म



रुपन्देही ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापनको जिम्मा नगरपालिकाले नै लिने निर्णय गरेको छ ।

कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा मंगलबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोनाबाट मृत्यु भएका नगरबासीको शव व्यवस्थापन नगरपालिका आफैँले गर्ने निर्णय गरेको हो ।

यसअघि शव व्यवस्थापनको काम सम्बन्धित पालिकाको सहयोगमा नेपाली सेनाले गर्दै आएको थियो ।

शव व्यवस्थापन जिम्मेवारीबाट संघीय सरकारपछि हटेपछि तिलोत्तमा नगरपालिकाले त्यसको जिम्मेवारी लिएको हो । बैठकले शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिएको छ ।

तिलोत्तमामा मंगलबारसम्म कोरोनाबाट आठ जनाको मृत्यु भएको छ । हालसम्म तिलोत्तमाका ७ सय २६ जनालाई कोरोना संक्रमण भएकोमा ३ सय ९३ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ३ सय २५ जना सक्रिय संक्रमित छन् ।

बैठकले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेर लक्षण देखिएकाहरूको नगरपालिकाको खर्चमा पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालासँग सम्झौता गर्ने निर्णय बैठकले गरेको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ६ : ११ बजे