१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतमा दैनिक कोरोना संक्रमितको संख्या ५० हजारमा झर्यो



एजेन्सी ।

भारतमा कोरोना संक्रमितको संख्या दैनिक ५० हजारमा झरेको छ । कोरोना भाइरस महामारी शुरु भएदेखि लगातार बढीरहेको संक्रमण दर केही समयदेखि घटिरहेको छ । दैनिक करिब एक लाखसम्म संक्रमित भेटिएको भारतमा अहिले ५० हजारको हाराहारीमा झरेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना संक्रमित भएका छन् ।

सोही अवधिमा कोरोनाका कारण सात सय १७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या ७६ लाख ५१ हजार एक सय आठ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सात लाख ४० हजार ९० जना अझै पनि सङ्क्रमित अवस्थामै उपचाररत रहेको तथ्याङ्कमा देखिएको छ ।

भारतमा संक्रमित अवस्थामै रहेकाहरूको संख्यामा पनि पछिल्ला केही सातादेखि कमी आएको छ । लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस सङ्क्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो । संक्रमित भएर पनि निको भइसकेकाहरुको कुल संख्या ६७ लाख ९५ हजार एक सय पाँच पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख १५ हजार नौ सय १४ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतका प्रदेशहरु मध्ये कोरोनाबाट सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिले पनि एक लाख ७४ हजार सात सय ५५ जना संक्रमित अवस्थामै छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ३ : ०३ बजे