१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

श्रीङ्गीघाटकी अध्यक्ष सेन वैज्ञानिक वन व्यवस्थापन संजालको संयोजकमा चयन



मायादेवी अनलाइन, चार नम्बर ।

बाणगंगास्थित श्रीङ्गीघाट सामुदायिक बनकी अध्यक्ष रेणु सेन वैज्ञानिक वन व्यवस्थापन संजालको संयोजकमा चयन हुनु भएको छ । कपिलवस्तु डिविजन वन कार्यालय अन्तर्गतका ३२ वैज्ञानिक सामुदायिक वनका पदाधिकारीहरुको फुलबारी सामुदायिक वनमा भएको सामुहिक भेलाबाट सेनलाई संयाजकमा चयन गरिएको हो ।

भेलाले सहसंयोजकमा फुलवारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेलबासेलाई चयन गरेको छ भने सचिवमा गौतम बुद्ध सामुदायिक वनका अध्यक्ष सुर्य बहादुर मल्ल, कोषाध्यक्षमा नव जागृति सामुदायिक वन पिपराका अध्यक्ष पदमलाल अधिकारी, सह सचिवमा नव प्रभात सामुदायिक वन बोडगाउँका डिल्लीराज रेग्मीलाई चयन गरेको छ ।

यस्तै खोजिपुरका दिपक कुमार थापा, नमुना सामुदायिक बनका हुमलाल पौडेल, वैजलपुरका सत्यनारायण थारु, त्रिसुलीका निल कुमार श्रेष्ठ, जुरपानीकी सरिता खनाल र प्रगतिका लक्ष्मण खड्का सदस्यहरुमा चयन हुनुभएको छ ।

फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्बासेको अध्यक्षता, सचिव मिना थापा क्षेत्रीको संचालनमा सम्पन्न भेलामा नवलपुर वैज्ञानिक वन सञ्जालका अध्यक्ष मधुविलास अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि बेलबासेले पनि सामुदायिक वनको पक्षमा अब सबै एकजुट भएर अगाडी बढ्नु पर्ने स्थिति आएको बताउनु भयो ।

यसैबीच संयोजकमा चयन भए लगत्तै संयोजक सेनले अब एक ढिकका भएर सामुदायिक र वैज्ञानिक बनको पक्षमा आवाज मुखरित गर्ने बताउनु भयो । मायादेवी अनलाइनसंग कुरा गर्दै उहाँले सामुदायिक वनमाथि छरिएका भ्रम र आरोपहरु चिर्न आफूले काम गर्ने बताउनु भएको हो ।


वनहरुको साझ संस्था वन महासंघले सामुदायिक तथा वैज्ञानिक वनको समस्याका विषयमा केही नगरेको, जेठ १५ गते रुख कटान रोक लगाएको अवस्थामा त्यसलाई खुलाउन हालसम्म पनि पहल नगरेको, सामुदायिक वन समस्यामा पर्दा मुक दर्शक भएको, संसदीय टोलीले पनि आफूहरुमाथि निराधार आरोप लगाएको, केन्द्रिय वन महासंघका सचिवले सामुदायिक बनका अध्यक्ष तथा समितिको मान हानी हुने गरी जथाभावी बोलेको हुनाले त्यसविरुद्ध डटेर लाग्ने संयोजक सेनले दाबी गर्नुभयो ।

वन महासंघ तुरुन्त नसच्चिए काठमाण्डौँसम्मै पुगेर धर्ना दिने संजालकी संयोजक सेनको चेतावनी छ । उहाँले वनको नाम जे राखिए पनि नीति यही नै लागु हुनु पर्ने भन्दै देशभरबाट दबाब सिर्जना गर्न भूमिका खेल्ने समेत बताउनु भयो ।

प्रकाशित मिति : १४ मंसिर २०७७ आइतबार ००:००  ७ : ०५ बजे