कपिलवस्तुका ३ सहित आज ३९६ पालिकामा एक साथ अस्पताल शिलान्यास हुँदै


काठमाण्डौ ।

आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।

सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नुहुनेछ ।

यस्तै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नुहुनेछ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार सातवटै प्रदेशमा ५० श्ययाको सरुवा रोग अस्पतालको भवनको शिलान्यास हुने बताउनुभयो ।

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र पालिकाका प्रमुखले पनि शिलान्यास गर्नेछन् ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । ७५३ पालिकामध्ये ६४९ पालिकामा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ पालिकामा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

प्रदेश नं १ मा ३२ पालिकामा, प्रदेश नं २ मा २० पालिका, वाग्मती प्रदेशमा १९ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ६० पालिका, कर्णाली प्रदेशमा २८ पालिका र सुदूरपश्चिम प्रदेशमा ३४ पालिकामा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ ।

यस्तै कपिलवस्तुका ३ पालिकामा पनि अस्पताल निर्माण सुरु हुने छ । मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा १५ शैय्याको अस्पताल एक साथ शिलान्यास हुने छ ।

अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस