१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कैलाश आश्रम नन्दवनलाई टिकट काटेरै हेर्ने बनाउँदैछौँः सांसद पन्थी



मायादेवी अनलाइन, चार नम्बर ।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले बाणगंगा २ नन्दनगरमा रहेको पवित्र धाम नन्दवन अर्थात् नन्दनगरलाई टिकट काटेरै हेर्न मिल्ने गरी विकास गर्न लागिएको बताउनु भएको छ । मुलुकभरकै पवित्र स्थल नन्दवनसंग धार्मिक, आध्यात्मिक र पर्यटकीय सम्भावना रहेका कारण यसलाई तिनै सरकारले प्राथमिकतामा राखेर ठुला योजनासहित विकास गर्न लागिएको बताउनु भएको हो ।

सोमबारबाट सुरु भएको २६ औँ मार्कण्डेय पुराण तथा नवकुण्डिय महायज्ञको समुद्घाटन गर्दै सांसद पन्थीले भन्नुभयो, ‘यो त्यो गछौँ भनेर अहिले सबै योजना सुनाइनँ तर विश्वास गर्नुहोस् कि यस नन्दवनलाई सारा जगत्ले टिकट काटेरै हेर्न मिल्ने गरी विकास गर्दै छौँ ।’

नन्दवन अर्थात् कैलाश आश्रम बाणगंगा नगरपालिकाको अमुल्य निधि त हुँदै हो, लुम्बिनी प्रदेशको पनि ठुलो सम्पति हो, उहाँले भन्नुभयो यहाँ सरकारको तर्फबाट प्रसस्त लगानी हुने वाला छ । अहिलेसम्म धेरै कामहरु सुरु भइसक्थे कोरोनाको कारण विश्व जगत् नै तहसनहस भएका कारण यहाँ सुरु हुने भनिएका कामहरु हुन सकेनन्, पन्थीले भन्नुभयो । गुरुकुलीय शिक्षादिक्षासंगै अब नन्दनगरको जग्गालाई उत्पादनसंग पनि जोडेर आर्थिक उपार्जन गर्न तर्फ लाग्नु पर्ने पनि उहाँको भनाई छ ।

नन्दनगरमा कृषि काम गर्न प्रशस्त जग्गा पनि रहेका कारण तरकारी खेती, पशुपालन, जडिबुटी प्रशोधन लगायतका कामहरु गर्दै सांस्कृतिक तथा धार्मिक सम्पदालाई ब्यापारमा रुपान्तरण गर्न सकिने बताउनु भयो । चिनको उदाहरण दिँदै यसको लागि पार्क, मन्दिर आदि वरिपरि बिभिन्न ब्यापार गर्न सकिने उहाँको भनाई छ ।

बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले कैलाश आश्रम नगरको अमूल्य सम्पति भएको बताउनु भयो । यही ठानेर नगरले चालु आर्थिक बर्षमा २५ लाख बजेट विनियोजन गरेको सुनाउँदै अन्य संरचना निर्माण गर्न र गुरुकुलमलाई संचालन गर्न अरु सहयोग पनि गर्ने प्रतिवद्धता जनाउनुभयो । मेयर थारुले कार्यक्रममै नगरका ठुला योजना तथा समस्या सुधारका प्रयासहरु पनि भइरहेको बताउँदै कपिलधाममा गौशाला बनिरहेको पनि सुनाउनु भयो । त्यसअघि बोल्दै समाज सेवी प्रेमराज घिमिरेले बाणगंगामा रहेका स्वास्थ्य, शिक्षामा भएका समस्याहरुलई गम्भिर रुपमा उठाउदै नगर प्रमुखको ध्यानाकर्षण गराउनु भएको थियो । त्यो सुनेपछि उहाँले समग्र नगर गतिविधि बताउनु भएको हो ।

सन्त शिरोमणी १००८ स्वामी लोकानन्द महाराज र प्रमुख बाचक पंडित विष्णु ज्ञवालीले यज्ञ, यज्ञाधि आयोजना गर्नुका अर्थ, मानव हुनुको धर्म र जीवन जगतका अन्य आध्यात्मिक कुराहरुको बारेमा प्रवचन दिनु भएको थियो ।

यज्ञ मूल आयोजक समितिका अध्यक्ष खिमानन्द घिमिरको अध्यक्षता, आर्थिक समितिका संयोजक अमित पौडेलको संचालन, गुरुकुलमका संरक्षक रविराज ज्ञवालीको स्वागतमा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल, समाज सेवी प्रेमराज घिमिरे, वडा नम्बर १ का झलक मल्ल ठकुरी, ज्योति परिषद् नेपाल लुम्बिनी प्रदेशका प्रमुख ज्योतिष पंडित जनार्दन न्यौपाने, प्रचार प्रसार संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्नु भएको थियो ।

यसको लागि चार नम्बर जितपुरस्थित एनएमबी बैङ्कमा रहेका कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिरको खाता नम्बर ०३५००३००२७४०२२०००००१ मा आर्थिक सहयोग जम्मा गर्न सकिने छ भने घरघरबाट धान र चामल पनि सहयोग गर्न सकिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ६ : ४१ बजे