१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ज्यानेट येलेनलाई वित्त मन्त्री बनाउने बाइडेनको प्रस्ताव



एजेन्सी ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रशासनमा ज्यानेट येलेनलाई वित्त मन्त्रालयको जिम्मा सुम्पिने घोषणा गरेका छन् ।

बाइडेनले फेडरल रिजर्भकी पूर्व अध्यक्ष येलेनलाई आफ्नो वित्त मन्त्रीका रुपमा नियुक्त गर्ने प्रस्ताव गरेका हुन् ।

माथिल्लो सदन सिनेटले प्रमाणिकरण गरेमा येलेन वित्त मन्त्रीको जिम्मेवारी पाउने उनी पहिलो महिला हुने छिन् ।

बाइडेनले येलेनसहित आफ्नो शीर्ष वित्त टिमका लागि अरु महिलाहरु पनि चयन गरेका छन् । आफ्नो टिम प्रमाणिकरण भएमा रंगभेदको अवरोध तोड्ने बाइडेनले बताएका छन् ।

बाइडेनले लगातार विविधतायुक्त प्रशासनको विकास गर्ने बताउँदै आएका छन् । यसअघि उनले सम्पूर्ण महिलासहितको ह्वाइट हाउस प्रेस टिम घोषणा गरेका थिए ।

वित्त टिमले अमेरिकालाई हालको खराब आर्थिक अवस्थाबाट माथि उकालेर पुनः अर्थतन्त्र राम्रो बनाउने बाइडेनको संक्रमणकालीन टिमले जनाएको छ ।

बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन् । उनले शपथ ग्रहण समारोहको सम्पूर्ण व्यवस्थापनका लागि समिति बनाउने पनि बताएका छन् ।

एरिजोना र विस्कनसिनले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका बाइडेनले आफ्नो टिमलाई थप आकार दिएका हुन् । दुवै राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कानूनी चुनौति दिने सम्भावना छ ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले लगातार बिना कुनै ठोस प्रमाण चुनावमा व्यापक धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

बाइडेनले वित्त मन्त्रीका लागि प्रस्ताव गरिएकी ७४ वर्षीया येलेन वरिष्ठ अर्थशास्त्री हुन् । उनले अमेरिकाको केन्द्रीय बैंकको प्रमुखका रुपमा सेवा गरेकी थिइन् ।

यस्तै उनले पूर्व राष्ट्रपति बिल क्लिन्टनको शीर्ष आर्थिक सल्लाहकारका रुपमा पनि काम गरेकी थिइन् । उनले सन् २००७ को आर्थिक मन्त्रीबाट अर्थतन्त्र माथि उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ ।

फेडरल रिजर्भको प्रमुखका रुपमा उनले बैंकका नीतिहरु र अमेरिकामा बढ्दै गएको आर्थिक असमानतालाई केन्द्रमा राखेकी थिइन् । सन् २०१८ मा बैंक छोडेपछि उनले जलवायु परिवर्तनका बारेमा बोल्दै आएकी थिइन् ।

बाइडेनले बाराक ओबामा प्रशासनमा काम गरेका वले एडीयेमोलाई उप वित्त मन्त्री तथा अर्थशास्त्री सिसिलिया राउजलाई आर्थिक सल्लाहकार समितिको अध्यक्षका रुपमा मनोनित गरेका छन् । उनीहरुको अनुमोदन भएमा सो जिम्मेवारीमा पुग्ने दुवै पहिलो अश्वेत अमेरिकी हुने बाइडेन टिमले जनाएको छ ।

यस्तै बाइडेनले चीनरा टण्डनलाई अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटको प्रमुखका रुपमा प्रस्ताव गरेका छन् ।

उनको नाम अनुमोदन भएमा उनी सो जिम्मेवारी पाउने पहिलो दक्षिण एसियाली अमेरिकी हुने छिन् । नीराको नाममा रिपब्लिकन तथा वामपन्थी विचारधारामा रहेका डेमोक्र्याटहरुले नै विरोध भने गरिरहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७ मंगलबार ००:००  ७ : १० बजे