८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने



चितवन ।

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको बताउनुभयो ।

हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस वर्ष आज र भोलि परेको थियो । पर्सि बिहान भने भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि मन्दिर खुला गरिने उहाँले जानकारी दिनुभयो । रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ ।

गएको वर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्बजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ । मोटरबाटो खुलेपछि आजभोलि मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ ।

इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात आमुन्नेसामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो । अहिले मन्दिर पुनर्निर्माणको काम भइरहेको छ ।

वाग्मती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर पुनर्निमार्ण थालिएको हो । पुनर्निर्माणका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७ शुक्रबार ००:००  १० : ०८ बजे