३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

नेकपा स्थायी कमिटी बैठक बस्दै : ओली उपस्थित होलान् ?



काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक तय भएको छ । तर आजको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली भने उपस्थित हुने नहुने टुङ्गो लागि नसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

लामो समयदेखिको पार्टी भित्र देखिएका मतभेदलाई स्थायी कमिटी बैठकमा लगेर छलफल गर्ने निष्कर्षसहित शनिवार बसेको पार्टीको सचिवालय बैठक सकिएको थियो । तर सचिवालय बैठकमा अध्यक्ष ओलीले भने स्थायी कमिटी बैठक नराख्ने मनसाय गरेको बुझिएको छ ।

केही दिन देखि दुवै अध्यक्षबीचको संवादहीनतालाई तोडेर शनिवार वन टु वन वार्ता भएको थियो । सचिवालय बैठक अघि अध्यक्ष ओली र प्रचण्डबीच छलफल भएको थियो । अध्यक्ष द्वयको छलफलले पार्टीमा सकारात्मक सङ्केत दिएको थियो । वन टु वन वार्तापछि बसेको सचिवालय बैठकमा भने त्यसको कुनै प्रभाव नपरेको बैठकमा सहभागी सदस्यले बताए ।

अध्यक्ष ओलीले छलफलका क्रममा आफूले दुवै पद नछोड्ने जानकारी दिएका थिए । उनले कार्यसूची तयार नपारिएकाले सचिवालयमै सहमतिको वातावरण बनिनसकेकाले स्थायी कमिटी बैठकको कुनै औचित्य नरहेको भन्दै स्थायी कमिटी बैठकका लागि सहमत देखिएका थिएनन् ।

तर अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितका नेताले बैठक राख्नमै जोड दिएका थिए । त्यसपछि ओली मौन रहेको बैठकमा सहभागी एक सदस्यले प्रशासनलाई बताए । “बैठक नै नराखौँ । छलफल नै नगरौँ भन्दै हुनुहुन्थ्यो, प्रस्ताव छैन भन्दै हुनुहुन्थ्यो तर बैठक रोक्न असफल हुनुभयो,” एक सचिवालय सदस्यले भने ।

नेकपा सचिवालय स्रोतका अनुसार पार्टीको पहिलो वरियताका अध्यक्ष बैठकमा उपस्थित नहुने भन्ने प्रश्नै रहँदैन ।

प्रकाशित मिति : २१ मंसिर २०७७ आइतबार ००:००  ११ : ५३ बजे