१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मल खरिदको सम्झौता गर्न नेपाली टोली बङ्गलादेश जाँदै



काठमाण्डौ ।

बङ्गलादेशसँग मल खरिदको सम्झौता गर्न नेपाली टोली आज बङ्गलादेश जाँदै छ । ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्ने सम्झौता गर्न नेपाली सरकारी टोली बिहान ९ बजे त्यसतर्फ जाने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । नेपाल र बंगलादेशबीच जीटुजी मार्फत मल खरिदका लागि समझदारी गर्न नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

बंगलादेश जाने टोलीमा कृषि मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी हुनुहुन्छ । बंगलादेशसँग मल ल्याउने सम्झौता भएपछि मात्रै खरिदको अन्तिम मूल्यबारे थाहा हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

विवादरहित रूपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने उहाँले जानकारी दिनुभयो । यसअघि नै कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको छ । ढुवानीका लागि कम्पनीले गएको असोज ३ गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स यूएई को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ ।

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र मल ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गएको भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने भने पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ९ : ०४ बजे