१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

अबको निर्वाचनमा काँग्रेस एक्लै होमिन्छ, तर चुनाव हुनेमा शंका छः महामन्त्री कोइराला




मायादेवी अनलाइन, चार नम्बर ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मितिमा चुनाव हुनेमा शंका ब्यक्त गर्नुभएको छ । काँग्रेसको ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस युनियन कपिलवस्तुले बाणगंगामा गरेकोे पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले ओलीले वैशाखमा चुनाव गर्न नसक्ने बताउनु भएको हो ।

‘चुनाव भए काँग्रेस एक्लै मैदानमा उत्रन्छ । ओलीले चुनाव गराउने नियत राख्नु पर्दछ । तर यो पक्का छ, उनले चुनाव गराउन्नन्’ उहाँले भन्नुभयो । कम्युनिष्टहरुले जनतालाई दुख दिएको भन्दै अब काँग्रेस फेरि पनि जनताको मत लिएर सत्तामा जाने भन्दै तोकिएको मितिमा चुनाव गराउन ओलीलाई चुनौती दिनुभयो ।

आफ्ना पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाले संविधान दिनु भएकोले त्यसको रक्षा गर्ने काम आफूहरुको भएको उहाँको भनाई छ । संविधानको भावना विपरित प्रधानमन्त्री केपी ओलीले काम गरेको भन्दै त्यसविरुद्ध आफूहरुले निरन्तर संघर्ष गर्ने उहाँको चेतावनी छ । संसद पुर्नस्थापनाको विषय सर्बोच्च अदालतसम्म पुगेकोले अब उसैको निर्णय पर्खेर आफूहरु बसेको पनि उहाँले बताउनु भयो । उहाँले अदालतले ठिक फैसला दिने भन्दै त्यही फैसलालाई काँग्रेसले मान्ने प्रष्ट्याउनु भयो ।

त्यसअघिको प्रशिक्षणमा महामन्त्री कोइरालाले कत्ति विचलित नभई राष्ट्रियता, प्रजातन्त्र र समाजबादको दिशामा उभिन कार्यकर्तालाई आग्रह गर्नुभयो । अब कम्युनिष्टहरु सकिने दिशामा रेहेको हुँदा अबको पहिलो पार्टी काँग्रेस नै हुने उहाँको दाबी छ ।

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य अत्तहर कमाल मुसलमान, केन्द्रिय सदस्य शंकर पाण्डे, जिल्ला सभापति सुरेन्द्रराज आचार्य, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाका नगर-प्रमुख मंगलप्रसाद थारु लगायतका नेताको सहभागिता थियो ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  ६ : १२ बजे