८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुद्धभूमिमा नौलो अभ्यास, सेवा प्रवाहलाई जनमैत्री बनाउन एकिकृत घुम्ती शिविर



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सेवा प्रवाहलाई सहज र जनमैत्री बनाउन घुम्ती शिविरको आयोजना गरेर नौलो अभ्यासको थालनी गरेको छ ।

बुद्धभूमिले वडा नं. ८ हरिहरपुरमा एक दिने घुम्ती शिविर आयोजना गरेर ६ सय ७४ जनालाई सेवा दिएको छ ।

शिविरमा चर्मरोग शिविर, जेष्ठ नागरिक परिचय पत्र वितरण, पशुपंक्षी उपचार, कृषिवाली उपचार र व्यवसाय दर्ता तथा नविकरण शिर्षकमा सेवा दिइएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा नगरबासीको उल्लेख्य सहभागीता रहेको र महत्वपूर्ण काम एकै ठाउँबाट दिने गरी उक्त कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले स्थानीय सरकार घरआँगनको सरकार भएकाले नगरबासीको सेवा प्रवाहलाई सहज बनाउन शिविरको आयोजना गरिएको बताउनुभयो ।

शिवरको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।

नगरबासीको सेवालाई सहज बनाउन विभिन्न रचनात्मक काम गर्दै आएको बुद्धभूमिले एक दिने घुम्ती शिविर आयोजना गरेर चर्चा बटुलेको छ ।

No description available.

प्रकाशित मिति : १५ चैत्र २०७७ आइतबार ००:००  ६ : १९ बजे