१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कांग्रेस महामन्त्री कोइरालाले गरेः पार्टी चलायमान बनाउन नेतृत्व परिवर्तन गर्ने कुरा



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेसका महामन्त्री डा.शसांक कोइरालाले पार्टीलाई चलायमान बनाउनको लागि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । नेपाली कांग्रेस कपिलवस्तुले मेलमिलाप तथा एकता दिवसको अवसरमा तौलिहवामा राखेको विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसलाई व्यवस्थित, चलायमान र देशमा लोकतन्त्रको रक्षा गर्न अवको महाधिवेशनवाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको उनले सुनाए । कोइरालाले भने-‘शेरबहादुर देउवा या अरु कसैको मैले विरोध गरेर भनेको होइन्, वर्तमान अवस्थामा देश र पार्टीलाई गति दिन नयाँ नेतृत्व आउनु पर्छ ।’

साथै कोइरालाले पार्टीमा घात अन्र्तरघातको कारण निर्वाचनमा आफुहरु पराजय भोग्नु परेकाले अव सबै मिलेर एक भएर जानुपर्ने धारणा राखे । ‘यो गुट र त्यो गुट भनेर कोही कतै नलाग्नुहोस, नेपाली कांग्रेस भनेर लाग्नुहोस त्यसैमा सबैको हित र जित हुन्छ ।’ उनले भने ।

कार्यक्रममा केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल, दिपक गिरी, गुरुराज घिमिरे, अतहर कमाल, पूर्व केन्द्रिय सदस्य दिपकुमार उपाध्याय, आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाह, राजेश सिंह, पूर्व सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, महिला संघ केन्द्रिय सदस्य सुमित्रा शर्मा, तरुण दल सभापति शक्ति सिंह ठकुरी, नेविसंघ पूर्व सभापति मोहम्मद ओजिह अरसद, विमला गैरे लगायतले मेलमिलापको बारेमा बोलेका थिए ।

पार्टिका जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता र सचिव प्रेम बहादुर रायमाझीको संचालन तथा जिल्ला समन्यव समित उप प्रमुख तारावती थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७ बिहिबार ००:००  ७ : १७ बजे