२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अझै किनारा लागेन नेकपा विवादः दुवै पक्षको जवाफ पर्खिंदै आयोग



काठमाडौं ।
नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ । आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ । प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुवै पक्षलाई पत्राचार गरिएको हो । दाहाल–नेपाल पक्षलाई ७ दिनभित्र जवाफ दिन भनिएको छ । ओली पक्षलाई भने म्याद तोकिएको छैन ।

आयोगले दाहाल–नेपाल पक्षलाई पठाएको पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार आए मात्र परिच्छेद–९ बमोजिम कारबाही गर्न सकिने जानकारी गराएको छ । ओली पक्षलाई पठाइएको पत्रमा भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ बारे जानकारी गराउने आयोगको निर्णय भएको उल्लेख छ ।

विषयको गाम्भीर्यलाई दृष्टिगत गरी फरक–फरक पत्र पठाइएको आयोगले जनाएको छ। दाहाल–नेपाल पक्षले पुस ६, ८ र १० गते आयोगमा निवेदन दिएको थियो। ओली पक्षले ७ र ९ गते निवेदन दिएको थियो ।

दाहाल–नेपाल पक्षले ६ गते स्थायी समिति बैठकको निर्णय, ८ गते केन्द्रीय समिति निर्णय, १० गते आधिकारिकता दाबीसहित पत्र आयोगमा दर्ता गरेको हो । ओली पक्षले ७ गते ११९९ केन्द्रीय सदस्यको मनोनयन र ९ गते विधान संशोधन र केन्द्रीय समिति बैठकको निर्णयसहित पत्र आयोगमा दर्ता गरेको हो ।

दाहाल–नेपाल पक्षले पार्टीको नाम, झन्डा, चुनावचिह्न दाबीसहित पत्र आयोगमा दर्ता गराएको छ। ओली पक्षले मात्रै केन्द्रीय समितिको विस्तार र विधान संशोधन विषयमा आयोगलाई जानकारी गराएको छ ।
अन्नपूर्ण पोस्ट्मा खबर छ ।

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  ८ : १४ बजे