१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

२५ औं वर्षगाठको अवसरमा सिद्धार्थले मनायो रजत महोत्सव



दीपा महत, जीतपुर ।
लुम्बिनी प्रदेश भित्रको अग्रणी गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले रजत महोत्सव मनाएको छ । संस्था स्थापनाको २५ औं वर्षको अवसरमा आइतबार आफ्नै भवनमा भब्य कार्यक्रम गरी रजत महोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा इश्वर गौतमले प्रदेशमा गैर सरकारी संस्था धेरै रहेपनि उत्कृष्ट काम गर्ने संस्था भने गन्यमात्रामा रहेको बताउनुभयो ।

सिद्धार्थ सामाजिक विकास केन्द्र प्रदेशकै उत्कृष्ट गैरसरकारी संस्था रहेको उहाँको बुझाई थियो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डा. गौतमले प्रदेशमा संचालनमा रहेका गैर सरकारी संस्थाहरुमा सिद्धार्थ अग्रपंतिमा रहेको बताउनु भयो । संस्थाले गरेका बिभिन्न सामाजिक तथा आर्थिक सशक्तिकरण र विकासको लागि गरेको कामको तथ्याङ्क प्रदेशमा अध्यावधिक हुने भएकाले नतिजा विश्लेषण गर्दा सिद्धार्थ अग्रपंतिमा रहेको उहाँले बताउनु भयो । समृृद्ध प्रदेशबासी गराउने अभियानमा केन्द्रको पनि महत्वपूर्ण भूमिका रहकोमा उहाँले धन्यबाद दिनुभयो ।

प्रा. डा. गौतमले पुँजिगत खर्च गर्नमा मुलुकका ७ प्रदेशमा लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको बताउनुभयो । कोरोनाको बेला पनि १७ प्रतिशत बढी खर्च गरेको भन्दै विकासका काम नरोकिएको समेत उहाँले बताउनु भयो ।

गत बर्ष मुलुकमा सबैभन्दा धेरै ८० प्रतिशत पुजिगत खर्च गरेकोमा यस बर्ष ९० प्रतिशत खर्च गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनु भयो । अहिलेसम्म २३ प्रतिशत बढी खर्च भएको भन्दै प्रदेशमा केही भएन कि भनेर निरास नहुन उहाँले आग्रह गर्नुभयो ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले कतिपय गैरसरकारी संस्था आयआर्जन तर्फ मात्र केन्द्रित भएपनि सिद्धार्थ भने नितान्त सामाजिक कार्य तर्फ लागेको बताउनुभयो । सिद्धार्थले कोभिड १९ को समयमा पनि समुदायमा गएर विभिन्न सचेतनामुलक कार्यक्रम गरेको बताउनुभयो । अब भौतिक विकासले मात्र नहुने भन्दै सामाजिक बिकासमा जोड दिनुपर्ने बताउनुभयो । देशमा राजनीतिक परिवर्तन भएपनि सामाजिक परिवर्तन हुन नसकेको भन्दै यसका लागि अब सबै निकाय मिलेर अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख तारावती चौधरीले सिद्धार्थले महिला, बालबालिका, सिमान्तकृत वर्गको क्षेत्रमा काम गरेको भन्दै विभिन्न सिपहरु प्रदान गर्दै महिलाहरुलाई आयआर्जन तर्फ उन्मूख गराएको बताउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै वाणगंगाका मेयर मंगल प्रसाद थारु, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले रजत महोत्सव मनाउदै गरेको सिद्धार्थलाई थप सफलताको शुभकामना दिनुभयो । आगामी दिनमा सामाजिक काममा थप शशक्त भइ लाग्न उहाँहरुले आग्रह गर्नुभएको थियो ।

कपिलवस्तु सामुदायिक अस्पतालका कोषाध्यक्ष रवि काफ्ले, वरिष्ठ समाजसेवी नित्यानन्द ज्ञवाली, वडा नम्बर ९ का वडा अध्यक्ष धूर्व बेल्वासे, समाजसेवी अब्दुल सत्तार खाँ लगाएतले पनि बोल्दै सामाजिक विकासका लागि सक्रिय सद्धिार्थलाई थप सफलताको शुभकामना दिनुभएको थियो ।

रजत महोत्सवमा सिद्धार्थले अपाङ्गता भएका २ विद्यार्थीलाई अपाङ्गता छात्रवृती प्रदान गरेको छ । हथौसाकी अंचला थारु र मोहम्मद सियल मुसलवानलाई जनही ५ हजारका दरले छात्रबृत्ती प्रदान गरिएको हो ।

यसैगरी विपन्न तथा जेहेन्दार ५ जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री प्रदान गरेको छ । पार्वता थारु, सुरक्षा परियार, सुनिता थारु, नन्दनी थारु र पुर्णिमा थारुलाई शैक्षिक सामग्री प्रदान गरेको हो । सिद्धार्थले बाल पुरस्कार अन्तरगत बुद्धभूमि ९ का सुप्रिम भुसाल र जिया भुसाललाई सम्मान गरेको छ ।

यसैगरी उत्कृष्ट कार्य गरेको भन्दै विभिन्न ८ समुहलाई पनि सम्मान गरेको छ । वैष्णुदेवी, समाजसेवी, नवदुर्गा, चौधरी जागृत, उद्धार जागृत, ज्योती, जुनेली र लालिगुँरास समूहलाई सम्मान गरेको हो ।

यसैगरी संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई पनि सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा सागर प्रदाद श्रेष्ठ, टंक प्रसाद आचार्य, पोम नारायण पौडेल, गुणनिधी भुसाल, कृष्ण प्रसाद भुसाल, राम किशुन चौधरी, अनारुल्ला मुसल्वान, श्री पुजन विश्वकर्मा र हुम बहादुर कुँवर रहनुभएको छ ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले संस्थागत जानकारी गराउनुभएको थियो । उपाध्यक्ष सूर्य कुमारी शाहीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन सचिव रोमकान्त घिमिरेले गर्नुभएको थियो ।

यसैबीच सिद्धार्थमा कार्यरत पूर्व कर्मचारी स्वर्गीय लक्ष्मी आचार्यको स्मृतीमा परिवारले १ लाखको सिद्धार्थ अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषमा टंकप्रसाद आचार्यले १ लाख र सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत संचालित सिड्स कार्यक्रमका संयोजक आरटी खानले ५ हजार १ सय रुपैया प्रदान गर्नुभएको छ ।

यस्तै रजत महोत्सवको अवसरमा सिद्धार्थ सामाजिक विकास केन्द्रमा बेबी बुद्धको भवन शिलन्यास गरिएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रध्यापक डाक्टर इश्वर गोतमले उक्त भवनको शिल्यानास गर्नुभएको थियो । सो अवसरमा भिक्षु मेत्रय सुमंगलो भन्तेले मन्त्रोच्चारण गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७७ आइतबार ००:००  १० : २१ बजे