१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

स्पेनिस ला लिगाः भ्यालेन्सियामाथि एट्लेटिको मड्रिडको सहज जित



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एट्लेटिकोले जित निकालेको हो । खेलको ११ औं मिनेटमा उरोस राकिकले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।

तर, खेलको २३ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दा एट्लेटिको २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ७२ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोलाई ३-१ को जित दिलाए । जितसंगै एट्लेटिकोले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

एट्लेटिकोले १८ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको रियलले १९ खेलमा ४० अंक जोडेको छ । भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७ सोमबार ००:००  ९ : ५८ बजे