१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु र बाँकेमा २५० मेगावाटको सौर्य ऊर्जा परियोजना बनाउन समझदारीपत्रमा हस्ताक्षर



कपिलवस्तु ।

नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लाण्टसहितको दुई सय ५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
ग्रिडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिङ्गापुर जेभीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा एक सय २५ मेगावाटका दरले दुई सय ५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेज प्लाण्ट स्थापनाका लागि अध्ययन गरिने छ ।

परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्डको कार्यालयमा सम्पन्न समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट कम्पनीका दक्षिण एसियाका लागि विकास प्रबन्धक वाङ क्वियाङले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनुपर्नेछ । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७७ मंगलबार ००:००  ५ : ४८ बजे