१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

एन्फा प्रशिक्षकबाट कपिलवस्तुमा १० दिने ‘क्लोज क्याम्प’ सुरु, २२ खेलाडी सहभागी



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु जिल्लामा ब्यावसायिक फुटवलको विकास गर्न भन्दै राष्ट्रियस्तरको प्रशिक्षण सुरु भएको छ । फुटवलको उर्वरभूमि भए तापनि कपिलवस्तुमा अहिलेसम्म तालिम दिएर खेलाडीलाई अनुबन्ध गर्ने र उनीहरुलाई ब्यावसायिक रुपमै खेलमा लगाउने अभ्यास सुरु हुन नसकेको अवस्थामा तिलक थापा नेतृत्वको जिल्ला फुटवल संघले यस अभ्यासको शुभारम्भ गरेको हो ।

यसको लागि संघले खेलाडीहरुलाई ‘क्लोज क्याम्प’ मै राखेर प्रशिक्षण सुरु गरेको बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । बाणगंगा नगरपालिकामा भएको पत्रकार सम्मेलनमा अध्यक्ष तिलक थापाले पहिलो पटक यसप्रकारको अभ्यासको थालनी गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो-‘अहिले बाणगंगाको बुद्ध रंगशालामा विहान र साँझ गरी क्लोज क्याम्प भइरहेको छ ।

जिल्लामा सम्भावना बोकेका खेलाडीले यहाँ अब १० दिनसम्म प्रशिक्षण पाउने छन् । यसबाट हामीले बिभिन्न स्थानमा हुने प्रतियोगिताका लागि खेलाडी तयार पार्छौँ ।’
एन्फा प्रशिक्षक राजेन्द्र तामाङले क्याम्पमा सहभागी खेलाडीलाई ‘फिजिकल्ली, टेक्निकल्ली फिटनेस’ को बारेमा प्रशिक्षण दिने थापाले बताउनु भयो ।’

जिल्लाका बिभिन्न स्थानबाट छनोट भएर आएका २२ जना खेलाडीलाई अहिले क्याम्पमा सहभागी गराइएको पनि उहाँले बताउनु भयो । क्याम्पमा बस्ने खेलाडीको लागि माघ २४ गतेसम्म खाना र बस्नको लागि ब्यवस्था गरिएको छ । क्याम्पमा भाग लिएका खेलाडीले जिल्लाभित्र तथा बाहिरका प्रतियोगितामा भाग लिन पाउने छन् ।

फुटवल संघले छिटै एन्फाबाट मान्यता पाउन लागेको जानकारी दिँदै त्यसपछि फुटवलका अरु गतिविधि अगाडी बढ्ने थापाले बताउनु भयो । अहिले तत्कालको लागि २२ जना खेलाडी क्याम्पमा रहेको भन्दै विस्तारै हरेक सवै पालिकामा क्याम्प संचालन गरिने संघले जनाएको छ ।

एन्फाले अण्डर १३ खेलाडी छनौट सम्बन्धि सूचना नै निकालेको हुनाले त्यसमा सहभागि गराउन आफूहरुले पहल गरेको उहाँको भनाई छ । १३ बर्ष मुनिका देशभरका राम्रा फुटवल प्रतिभालाई एन्फा)ले काठमाण्डौँमा राखेर निशुल्क प्रशिक्षण दिने, शिक्षादिक्षाको ग्यारेन्टीसहित ब्यावसायिक फुटवलमा सहभागी गराउने लगायतका काम गरिरहेको भन्दै कपिलवस्तुबाट पनि त्यस्ता खेलाडी उत्पादन गर्न आफूहरुले नयाँ अभ्यासको शुभारम्भ गरेको उहाँले बताउनु भयो ।

यसैबीच संघले जिल्लाको फुटवल विकासको लागि ऐतिहासिक र नयाँ निणर्य गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ । अध्यक्ष थापाले अब जिल्लाबाट अन्यत्र फुटवल खेल्न जाँदा कपिलवस्तुकै खेलाडीमात्र रहने गरी बाहिरी खेलाडी बन्देज गर्ने निणर्य गरिएको सुनाउनु भयो । उहाँले भन्नुभयो-‘यो फुटवल विकासमा ऐतिहासिक निणर्य हो । यसले जिल्लाको फुटवल विकासमा महत्वपूणर् ढंगबाट काम गर्ने छ ।’

No description available.

अहिलेसम्म आन्तरिक तथा बाह्य प्रतियोगिता खेल्दा उपाधिलाई मात्र ग्राह्यता दिइने गरेको, जित्नको लागि बाहिरी खेलाडी ल्याएर जिल्लाका खेलाडीलाई बञ्चित गरिँदा उनीहरुको प्रतिभा लुकेको, खेलाडीमै निरासा पैदा भएको भन्दै यिनै अभ्यास जिल्लाको फुटवलको विकासको बाधक भएको अध्यक्ष थापाले बताउनु भयो ।

संघका महासचिव ईश्वर थापाको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा राष्ट्रिय रेफ्री विष्णु थापा, कोषाध्यक्ष शुशिलसिंह ठकुरी, सचिव गोविन्द आचार्य, सदस्य रमेश मल्ल लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १४ माघ २०७७ बुधबार ००:००  ७ : ०० बजे