५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समाज रुपान्तरणमा स्वर्गीय देवीरामको भूमिका महत्वपूर्ण



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले स्वर्गीय देवीराम भुसाल जस्ता थुप्रै बुवाहरुको योगदानबाट आज समाज रुपान्तरणको दिशातर्फ अगाडी बढेको बताउनु भएको छ ।

निकै शालिन ब्यत्तित्व स्व.भुसालको सम्झनामा नेकपा ओली समूह कपिलवस्तुद्धारा शनिबार आयोजित श्रद्धाञ्जली सभामा धारणा राख्दै नेता न्यौपानेले यस्तो बताउनु भएको हो । नेता न्यौपानेले कपिलवस्तुको भगलापुर सिंगो गाउँ नै कम्युनिष्ट आन्दोलनको उद्गम थलो भएको चर्चा गर्दै अहिले पनि वामपंथीहरुको वचश्र्व रहेको जिकिर गर्नु भयो ।

श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष झविलाल पोख्रेलले राष्ट्रियता, स्वाधिनता, सांस्कृतिक एवम् कम्युनिष्ट आन्दोलनमा सकारात्मक भूमिका खेल्नुुहुने स्व. भुसाल जस्ता वुवाहरुको सपना पुरा गर्ने काममा आफुहरु प्रतिवद्ध भएर लाग्ने बताउनु भयो ।

नेता पाख्रेलले पूर्व प्रधान्मन्त्री, मन्त्रीहरुको सेल्टर रहेको भुसालको परिवार र सिंगो भगलापुर गाउँ कम्युनिष्ट आन्दोलनका निम्ति अविष्मरणीय थलो रहेको जिकिर गर्दै सिंगो गाउँको ऐतिहासिक योगदान प्रति प्रशंसा गर्दै महत्वपूर्ण योगदानदाई सधै स्मरण गर्ने बताउनु भयो ।

वि.स. १९८९ सालमा जन्मनु भएका ज्योतिष भुसालको ८९ वर्षको उमेरमा यही माघ २१ गते आफ्नै निवास भगलापुरमा निधन भएको थियो । स्व. भुसालका नेकपाका प्रदेश कमिटी सदस्य एवम् जिल्ला सचिव धर्मराज भुसाल र पार्टी कार्यकर्ता चुरामणी भुसाल दुई छोरा रहेका छन् ।

कम्युनिष्ट विचारलाई समर्थन गर्नुहुने स्व. भुसालले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई आदर्श नेता समेत मान्नुहुन्थ्र्यो । स्व. भुसालले आफ्नो जीवन कालमा सामाजिक एवम् धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता, नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला सहसंयोजक डम्मर प्रसाद शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बाबुराम खनालले स्व. भुसालको जीवनीबारे चर्चा गर्नु भएको थियो ।

शोक सभामा नेकपाका केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, नेकपाका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशका कार्यालय सचिव बलराम अधिकारी नेकपाका केन्द्रिय सदस्यहरु कृष्ण पौडेल, विश्राम प्रसाद थारु, जंजिर प्रसाद थारु नेकपाका नेताहरु युवराज पोख्रेल, विश्व कार्की, लगायतका नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७ शुक्रबार ००:००  ६ : ३९ बजे