शिक्षामा लगानी बढाउन सरोकारवालाको सुझाव


मायादेवी अनलाइन, कपिलवस्तु ।

सरकारले आफनो दायित्व पुरा गर्न शिक्षामा लगानी बढाउन आवश्यक भएको सरोकारवालाले बताएका छन् । सार्वजनिक शिक्षा सुदृढिकरण र गुणस्तरीय शिक्षाका लागि राज्यले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता भएको औल्याएका हुन् । अझ महामारीका समयमा पनि बालवालिकाको सिकाई प्रकृया लामो समय सम्म अवरुद्ध गर्न नहुने बताउदै शिक्षासंग सम्वद्ध सरोकारवालाले गुणस्तरीय शिक्षा, प्रविधी र पहुँचमा लगानी बढाउनुपर्ने बताएका हुन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले मंगलबार विहान आयोजना गरेको शिक्षामा लगानी बढाऔं भन्ने सम्वाद कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । सार्वजनिक विद्यालयमा पढ्ने बालबालिकाको सूचना संचार प्रविधीमा पहुँच नहुने भएकाले स्थानीय सरकारको लगानी बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । सार्वजनिक शिक्षा सवैको पहुँच र सर्वसुलभ बनाउन आइसिटिमा लगानी बढाउदै महामारीका बेला शिक्षामा बजेट बृद्धि गर्न सवै निकाय जिम्मेवार बन्नुपर्ने शिक्षा अधिकारकर्मीले सुझाएका थिए । जुम सम्वाद कार्यक्रममा कोरोना महामारीले शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले भन्नुभयो – अझ कति समय हुने हो, अनिश्चित छ तर पनि संचार प्रविधीको प्रयोगमा पालिकाले अवको शिक्षा र स्वास्थ्य तर्फका योजना, कार्यक्रम र बजेटलाई प्राथमिकता दिन्छ । अध्यक्ष थापाले शिक्षामा लगानी बढाउन आवश्यक देखिएको बताउदै शिक्षक विद्यार्थी अनुपात मिलाउन पालिकाले ५६ जना नयाँ शिक्षक नियुक्ति गरिएको बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले शिक्षामा पहुँच बढाउने, शैक्षिक व्यवस्थापन गर्ने, शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने योजना सहितको सूचना प्रविधीको क्षेत्रमा लगानी आवश्यक भएको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीको प्रविधीमा पहुँचको पहिचान गरी विषम परिस्थितीमा सूचना प्रविधीको पहँुच बढाएर शैक्षिक कृयाकलाप गर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष टिकाराम पौडेलले विद्यालय र शिक्षकका यावत समस्या राख्दै तीनै तहका सरकारले शिक्षामा पर्याप्त बजेट विनियोजन गर्न नसकिरहेको बताउनुभयो । स्थानीय तहले परम्परागत ढंगले भन्दा फरक तरिकाले शिक्षामा बजेट निर्माण गर्नुपर्ने सुझाउनुभयो । उहाँले महामारीमा सिकाईलाई विविधता दिन आई सि टि को प्रयोग गरेर सिकाउने वातावरण बनाउनुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक हरि अधिकारीले शिक्षामा लगानी बढाऔं भन्ने विश्वव्यापी अभियानको बारेमा जानकारी गराउदै सार्वजनिक शिक्षा सुदृढिकरणमा सरकारले कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा पत्रकार समुहका केन्द्रिय उपाध्यक्ष कृष्ण मल्लले शिक्षामा बजेट छुट्याउने विषयमा संघीय देखि स्थानीय सरकारको नेतृत्वमा इच्छाशक्ति र संस्कार नै नभएको बताउनुभयो । जुम वैठकमा शैक्षिक अभियान्ता दुर्गा अर्याल, जानु पाण्डे, दिपक खड्का लगाएतले विभिन्न धारणा राखेका थिए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस