प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, मन्त्रीमा पुरानै अनुहार


काठमाण्डौ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पथ तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा सामेल गराउने भन्दै अहिलेलाई पुरानै मन्त्रीहरूलाई नियुक्त गर्नुभएको छ ।

गएको सोमवार प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । तीन दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुभएन भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधि सभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । तर धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधि चुनावमा जान्छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस