१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

संरक्षकबाटै असुरक्षित संविधान



काठमाडौं ।
संविधानको संरक्षण मानिएकी राष्ट्रपतिबाट फेरि एकपटक संविधानमाथि हमला भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएमा वा विश्वास/अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ । तर, प्रधानमन्त्रीको सिफारिस भन्दै उनले नयाँ सरकार गठनका लागि दलहरूलाई २१ घन्टाको म्याद दिएकी छिन् ।

व्यक्ति विशेषको कुर्सीका लागि संविधानको कुल्चिएको भन्दै संविधानविद् र प्रतिपक्षी राजनीतिक दलहरूले आपत्ति व्यक्त गरेका छन् । उनीहरूले असंवैधानिक कदमविरुद्ध राजनतिक र कानुनी प्रतिवाद गर्ने स्पष्ट पारेका छन् ।

दलहरूलाई २१ घन्टाको म्याद दिए पनि प्रधानमन्त्री केपी ओलीलाई तत्कालै पुनर्नियुक्ति दिलाउन शीतलनिवासमा बिहीबार मध्यरातसम्म भेटघाट भएका छन् । बालुवाटारमा महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेपछि उनीहरूलाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिनिवास पुगेका थिए ।

बालुवाटारमा भएको छलफलमा नयाँ सरकार गठनका लागि सहमतिसमेत भएको छ । ‘नयाँ सरकार गठनका लागि प्रधानमन्त्री र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको छ, छलफल सकारात्मक भएको छ,’ जसपा नेता मनीष सुमनले भने ।

राष्ट्रपति भण्डारीले संविधानको नयाँ सरकार गठनका लागि आह्वान गरेको तीन घन्टाभित्रै उनीहरू राष्ट्रपतिनिवास पुगेका थिए । ठाकुर र महतो पक्षले समर्थन नगरेसम्म विपक्षी गठबन्धन अपूरो हुन्छ । उनीहरूले समर्थन गरेमा ओली नेतृत्वमा फेरि सरकार बन्नेछ । तर, यसरी सरकार बनाउनका लागि संवैधानिक प्रावधान उल्लंघन भएकोमा संविधानविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा ९३० अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताका रूपमा प्रधानमन्त्री भएको व्यक्तिले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

यदि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ९५० अनुसार सरकार गठनको प्रक्रिया अघि बढ्ने प्रस्ट संवैधानिक व्यवस्था छ । अर्थात् अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले जेठ मसान्तसम्म विश्वासको मत नपाए यो विकल्प खुला हुने हो ।

तर, प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामासमेत नगरेको अवस्थामा समेत राष्ट्रपति विद्यादेवी भण्डारीले २० घन्टाको समय दिएर नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार वैकल्पिक सरकारका लागि मार्गप्रशस्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा छ । अल्पमतको सरकार बनाएका प्रधानमन्त्री ओली सात दिनमै विश्वासको मत हासिल गर्न नसकिने निष्कर्षमा पुगेका हुन् । , यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८ शुक्रबार ००:००  ६ : ३९ बजे