१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

आवश्यकता नै छैन भन्दै एमालेको खनाल-नेपाल समूहले स्पष्टीकरण नबुझाउने



काठमाण्डौ ।

नेकपा एमालेको खनाल-नेपाल समूहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले खनाल-नेपाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अस्ति पत्र पठाएको थियो ।

पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको खनाल-नेपाल समूहका नेता भीम रावलले टिप्पणी गर्नुभयो ।

‘स्वयम् केपी शर्मा ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक-पटक गरिरहनुभएको छ’ नेता रावलले भन्नुभयो, ‘अवैध अध्यक्षले सोधेको स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता छैन र हामी स्पष्टीकरण पनि दिँदैनौँ ।’

यस्तै नेता रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्पष्टीकरण दिनुपर्ने बताउनुभयो । पार्टीलाई निजी कम्पनीजस्तो बनाउनुको कारण, नवौं राष्ट्रिय महाधिवेशनपछिको संरचना भत्काउनुको कारण, संविधानमाथि बारम्बार प्रहार गर्नुको कारण, पार्टी विधान विपरीत गतिविधि गर्नुपर्ने कारणलगायत विषयमा केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताउनुभयो ।

आफूहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्दासमेत पार्टीको हित विपरीत गतिविधि बन्द नभएकोले केपी शर्मा ओलीलाई वैध अध्यक्ष मान्न नसकिने र ओलीले नै सबैसामु स्पष्टीकरण दिनुपर्ने उहाँको टिप्पणी छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन खनाल-नेपाल समूहका ११ प्रतिनिधि सभा सांसदलाई अस्ति पत्र पठाउनुभएको थियो ।

स्पष्टीकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ८ : ३२ बजे