८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

६०५ ले मुद्रा अवमूल्यन भएर दशकपछि बल्ल पुग्यो एक खर्बको निकासी



काठमाडौँ ।
नेपालले एक खर्ब रुपैयाँको निकासी पुर्‍याउने लक्ष्य राखेको एक दशकपछि निर्यात रकम एक खर्ब रुपैयाँ पुगेको छ । २०६४ सालमा जारी गरिएको अन्तरिम योजनाले निकासी मूल्य एक खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको थियो । तर उक्त लक्ष्य हासिल गर्न झण्डै एक दशकभन्दा लामो समय लागेको छ ।

यद्यपि चालु आर्थिक वर्ष २०७७–७८ मा यो निकासी लक्ष्य पुरा भएको छ । चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८ अर्ब ४७ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ ।

२०६४ सालमा अन्तरिम योजना निर्माण गर्दा नै एक खर्ब निकासी गर्ने लक्ष्य राखिएको भएपनि त्यो निकासी पुर्‍याउन एक दशक लाग्यो । ‘एक खर्बको निकासी पुग्नु राम्रो कुरा हो तर यो त हामीले १० वर्षअघि नै राखेको लक्ष्य हो, अहिलेको परिप्रेक्ष्यमा त्यो ठूलो रकम होइन,’ पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा भन्छन्, ‘दश वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन झण्डै ६०।३९ प्रतिशत छ । यस हिसाबले हेर्दा निकासी बढेको जस्तो देखिएपनि त्यो यथार्थमा मुद्रास्फिति पनि प्रमुख कारण देखिन्छ ।’

सन् २०११ मे महिनामा प्रतिअमेरिकी डलर नेपाली रुपैयाँमा विनिमय ७२ रुपैयाँ ८५ पैसा थियो, जुन आज एक सय १६ रुपैयाँ ८४ पैसा छ।

मुलुकमा औद्योगिक र कृषि उत्पादनतर्फ औद्योगिक उत्पादनको आधार कमजोर भएकाले निकासी बढाउन ठोस जग निर्माण हुन नसकेको उनको भनाए छ । दश वर्षअघिको तुलनामा आयात पनि उल्लेख्य बढेकाले व्यापार सन्तुलनका लागि उत्पादन बढाएर निकासी बढाउनुपर्नेछ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल आयात १२ खर्ब ५४ अर्ब रुपैयाँ छ । आयात गत वर्षको सोही अवधिको तुलनामा २२।३४ प्रतिशतले बढेको हो । आयात उल्लेख्य बढेकाले व्यापार घाटा पनि २३।०७ प्रतिशतले बढेर १३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।

व्यापारघाटा उच्च हुँदा मुलुकको सञ्चिति बाहिर गइरहेको छ । ‘नेपालीले विदेशमा दुःखजिलो गरेर कमाएर ल्याउँछौं, त्यो सबै वस्तु र सेवा आयात गर्न विदेश जान्छ,’ पूर्व वाणिज्य सचिव ओझाले भन्छन्, ‘निकासी बढाउने त हाम्रो प्राथमिकता हो नै त्यससँगै आयात प्रतिस्थापित गर्न सकिने औद्योगिक र कृषि उत्पादनले क्रमशः आयात प्रतिस्थापन गरेर व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ ।’

उनले तुनात्मक र प्रतिस्पर्धी लाभका वस्तु निकासी बढाउने भनिएपनि त्यसलाई लगानी, व्यवसायिक वातावरण, उत्पादन क्षमताले प्रभावित पारेको बताए । विशेष आर्थिक क्षेत्र निर्माण गरेर पनि औद्योगिकरण हुन नसक्नु, व्यापार रणनीतिमा समावेश वस्तु र सेवाको उत्पादन बढाउन नसक्नुले प्रभावकारी कार्यसम्पादनको अभाव दर्शाएको उनले बताए ।

अर्कोतर्फ नेपालको व्यापारको ठूलो हिस्सा अर्थात् ६५।६८ प्रतिशत भारतमा निर्भर छ । अहिले कुल आयातको ६५ प्रतिशत भारतबाट र निर्यातमध्ये ७३ प्रतिशत भारतमा हुन्छ । पूर्व सचिव ओझाले व्यापारका साझेदारहरूमध्ये कुनै एक मुलुकमा केन्द्रित हुनुभन्दा विविधिकरण र अन्य निर्यात गन्तव्यमा पनि निकासीका सम्भावना खोज्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ११ : ४५ बजे