७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

शिवराजलाई सुझावः बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखियोस



महादेव पोख्रेल ।
स्थानीय तहको निर्वाचन पछि गठन भएको नगर सभाबाट आफनो नगर बिकासका लागि विस्तारित योजना बनाउदा सडक निर्माण कार्यलाई विशेष प्राथमिकाता दिएको देखिन्छ । यसैलाई सुक्ष्म अध्ययन गर्ने हो भने नेपाल जस्तो अल्पविकसित देशमा सडक, स्वास्थ्य र शिक्षा नै बिकासको मूल सुचक हुन जरुरी हो ।

स्थानीय तहका सरकारले गरिबी र पछौटेपन भएका आफ्ना नागरिकलाई यी सेवामा पहुँच बढाउन अहिलेको परिपेक्ष्यमा अति नै सान्दर्भिक रहेको छ । माथि उल्लेखित विषय वस्तुमा शिवराज नगरपालिकाले अन्य सरोकारका विषय भन्दा सडक निर्माण कार्यलाई बढी प्राथमिकतामा राखे पनि अन्य सेवालाई कम प्राथमिकतामा राखेको स्थानीय सरोकारवालाहरुले महशुस गरेका र विभिन्न बैठक र छलफलमा उठ्ने गरेको छ ।

विषयवस्तु उठान गर्दा कुनै पनि दल वा राजनैतिक आस्थाभन्दा माथि उठि नागरिकहरुको आस्था जोडिनु सान्दर्भिक हो । एउटा नागरिकको हैसियतले समाज बिकासका लागि उसले विभिन्न सवालहरुलाई उठाउन गर्नु उसको मानवीय कर्तव्य पनि हो । मैले शिवराज नगरपालिकालाई अब बाँकी रहेको दिनहरुमा विशेष गरि स्वास्थ्यलाई प्रथामिकताको आधारमा पहिलो सुचकको रुपमा लिन र यस क्षेत्रमा व्यापक सुधार गरि स्वास्थ्य क्षेत्रमा लगानीको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।

विकासको दृष्टिकोणले लुम्बिनी प्रदेश र नेपालको सन्दर्भमा मानव सुचाकङ्कमा एकदमै पछाडी परेको जिल्लाको रुपमा लिन सकिन्छ । शिवराज नगरपालिकाको क्षेत्रफल १७८.९५ किलोमिटर जनघनत्व २८० किलोमिटर र जनसंख्या २०६८ अनुसार ४९,९८८ भएपनि अबको १० वर्षको अन्तरालमा करिब ९० हजारको अनुमान गर्न सक्छौ ।

जनप्रतिनिधि निर्वाचित भएको ४ वर्षमा धेरै सडक कालोपत्रे भयो, त्यो कालोपत्रे सडकले स्थानियको जीवनस्तरमा के परिवर्तन आयो वा आएन, यसको लेखाजोखा गर्ने बेला आएको र यसबाट लाभान्वित व्यक्तिहरुको तथ्याङ्ग र उनीहरुको जीवनमा आएको परिवर्तनका विषयवस्तु शिवराज नगरपालिकाले सार्वजनिक गर्न जरुरी देखिन्छ । अहिले विश्व कोरोना भाईरस र कोभिड १९ को प्रभावले ग्रसित छ । हामी स्वास्थ्यको दृष्टि कति पछाडी छौ भन्ने विषय जग जाहिर भएको कुरा हो त्यसकारण अबको बजेट सडक निर्माण कार्य भन्दा पनि स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ ।

हामीले शिवराज नगरपालिकामा डाक्टर सहितको सेवा जस्ते महिला, बालबालिका, हाडजोर्नी लगायतका विषयमा केन्द्रित भई दिन सके यसले शिवराज नगरपालिकासंगै आफ्ना छिमेकी नगरपालिकाका व्यक्तिहरु लाभवान्वित हुन् सक्छन । शिवराजले बिशेषज्ञ सेवा सहितको अस्पतालको सुरुवात गर्न सके शिवराज नगरको मात्रै नभई छिमेकी नगरपालिका बुद्धभूमि, महाराजगन्ज, कृष्णनगर तथा बिजयनगर गाउँपालिकाका लागि नमुना नगरपालिका हुन सक्छ ।
गरिब रेखामुनी रहेका मानिसलाई समेत सुबिधा मिल्ने र प्रदेशकै अब्बल नगरपालिकाको रुपमा साबित हुने देखिन्छ । यस क्षेत्रका बिरामीहरु सेवा लिन बुटवल, भैरहवा, काठमाडौं र भारतका विभिन्न शहरहरुमा उपचार गर्न जानुपर्ने बाध्यताको अन्त्य हुनेछ र हामीले चाहेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपना साकार हुन सक्छ । त्यस कारण अब शिवराज नगरपालिकाले बजेट निर्माण कार्य गर्दा स्थानिय तहले नयाँ बजेट ल्याउने तयारी गरि रहदा मानिसको दैनिक जीवनसंग जोडिएको सवाल खास गरि सडक भन्दा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी आवश्यक देखिन्छ ।

शिक्षा संविधान मै आधारभुत तह निशुल्क र अनिवर्य भनिए पनि स्थानीय तहले अक्षर चिनाउना नसक्नु हाम्रो लागि दुर्भाग्य हो । शिवराज नगरपालिकाले २०७६ सालमा आफुलाई साक्षर नगर घोषणा गरेको थियो घोषणा गर्दा शिवराजमा ९५.१२ प्रतिशत नगरवासी साक्षर भएको दाबी पेश गरेको थियो । अहिले पनि यहाँका धेरै जसो व्यक्तिहरु अगुठा छाँप रहेको हामी फिल्डमा गई हेर्ना सक्छौ ।

शिवराज नगरपालिकामा शिक्षा क्षेत्रमा गुणस्तरियता कायम गर्न र सतप्रतिशत बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान अहिले पनि चुनौतीको रुपमा रहेको छ । अब स्थानिय तहले नयाँ बजेट ल्याउने तयारी गरि रहदा यि मानिसको जीवनसंग जोडिएको सवालमा शिवराज नगरपालिकको समय ध्यान जाओस ।

लेखक चेम्कर अफ कमर्सका कपिलवस्तुका अध्यक्ष हुन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ६ : ४७ बजे