१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रतिष्ठित सञ्चार उद्यमी चन्द्र न्यौपानेको कोरोनाको कारण निधन



विराटनगर ।
स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन ९बान०का केन्द्रीय अध्यक्ष, सफल एवं प्रतिष्ठित सञ्चार उद्यमी चन्द्र न्यौपानेको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत सुनसरीको इटहरी घर भएका ५० वर्षीय न्यौपानेको शुक्रबार बिहान ८ः२५ बजेतिर निधन भएको हो।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि वैशाख २८ गते भर्ना गरिएको थियो ।

न्यौपानेलाई कोरोनासँगै निमोनियाको सङ्क्रमण पनि देखिएको देवले बताए।

अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार थालिएको थियो। उपचारमा प्लाज्मा थेरापी र रेम्डेसिभिरको प्रयोग गरिए पनि ६ दिनदेखि भेन्टिलेटरमा उपचाररत न्यौपानेलाई बचाउन नसकिएको देवले बताए।

न्यौपाने २०७४ सालदेखि वानको नेतृत्वमा थिए । सञ्चार क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका न्यौपाने राजनैतिक एवं सामाजिक क्षेत्रमा पनि क्रियासिल थिए ।

उनी इटहरीको सबैभन्दा पुरानो व्यवसायिक रेडियो सप्तकोसी एफएमका स्टेशन म्यानेजर पनि हुन् ।

न्यौपानेलाई वौद्धिक, क्रियासिल र प्रेरणादायी व्यक्तित्वका रुपमा सबैले लिने गरेका थिए । अल्पायुमै भएको उनको निधनप्रति विभिन्न सङ्घ संस्थाले दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति : १४ जेष्ठ २०७८ शुक्रबार ००:००  ११ : ०३ बजे