६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने निर्णय



काठमाडौं ।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बैठक स्रोतले जानकारी दियो ।

यो वर्ष जेठ १३ गतेदेखि एसइई तोकिएको थियो । यद्यपि संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन् ।

गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । सरोकारवालाले यस वर्ष पनि आन्तरिक मूल्याङ्कन गराउन सुझाव दिएका थिए ।

एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिए जस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्याङ्कन विधि नै उपयुक्त भएको जोड दिइएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : ४६ बजे