४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

कोरोना कहरः आजदेखि कपिलवस्तुमा चौथो चरणको लकडाउन



दीपा महत, चारनम्बर ।
कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि कपिलवस्तुमा पटक पटक गरि चौथो चरणको लकडाउन गरिएको छ । पछिल्लो तेस्रो पटकका लागि थपिएको लकडाउन गएराति १२ बजे सकिदै थियो । यद्यपि पुनः लकडाउनलाई थप गरेर जिल्लामा जेठ २४ गतेसम्म लम्ब्याइएको छ ।

भारतीय खुला सीमा रहेको कपिलवस्तु कोरोनाको दोस्रो मारको नराम्रोसंग चपेटामा परेको छ । पहिलो चरणको संक्रमणले पनि उत्तिकै प्रभाव पारेको जिल्लामा दोस्रो चरणमा झनै मारमा परेको छ ।

गएको बैशाख १७ गते देखि जेष्ठ १६ गतेसम्म कोरोनाबाट जिल्लामा १ सय ४७ जनाले ज्यान गुमाएका छन् । यो तथ्याङ्क पहिला देखिएको संक्रमण भन्दा नराम्रो हो ।

यता लगातार एक महिनाको लकडाउनले जिल्लाको जनजीवन थप कष्टकर बन्दै गैरहेको छ । विकास निर्माणका काम लकडाउनमा नरोकिए पनि साना तथा मझौला उद्योग, व्यवसाय ठप्प छन् । सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण उस्तै मार खेपिरहेका छन् । यातायात व्यवासायी पनि यसको चरम मारमा परेका छन् ।

निजी सवारी साधन सञ्चालनमा पूरै प्रतिबन्ध गरिएपनि नियन्त्रणमा प्रशासन चुकेको छ । सडकमा साना सवारीसाधनका अलवा मोटरसाइकल गुडेका गुडै छन् । बैंक तथा वित्तीय संस्थालाई स्वास्थ्य मापदण्डको पालना गरी विद्युतीय प्रणालीबाट सेवा दिन आदेश जारी गरिएपनि कोरोना संक्रमणको जोखिम रोक्न स्थानीय पालिकाले हप्ताको दुई दिन सेवा दिने गरी निर्णय गरेका छन् ।

सरकारी संघ संस्थाबाट पाइने नियमित सेवा पुरै बन्द छ भने शैक्षिक संघसंस्थालाई केन्द्र सरकारले नै सञ्चालनमा रोक लगाएको छ । अत्यावश्यक सेवा दिने पसल, व्यवसायलाई विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालनको अनुमती दिइएको छ । यद्यपि यसको कडाई नगर्दा आफुखुसी पसल, व्यवसाय सञ्चालन गर्ने बढेका छन् ।

किसानहरुको खेतीपातीको समय भएकाले मानिसको चहलपहल विस्तारै बढ्न थालेको छ । कृषिजन्य बस्तुको बेचविखन गर्ने पसलमा भीडभाड देखिन थालेको छ । सुनसान बनेका खेतबारीमा विस्तारै किसानको चहलपहल देखिन थालेको छ ।

कोरोना नियन्त्रणका लागि जिल्लामा एक महिना देखि लकडाउन जारी गरिएपनि कोरोना परिक्षणको दायरा बढ्न सकेको छैन् । स्थानीय तहले यसमा गम्भीरता नदेखाएको पाइएको छ । कोरोनाको परिक्षण दर बढाएर गरिएको लकडाउन प्रभावकारी हुने भन्दै सरोकारवालाले कोरोनाको परिक्षण दर बढाउन दबाब दिईरहेका छन् । तर, स्थानीय सरकारको यो विषयमा चासो कम देखिएका छन् ।

कोरोनाको दोस्रो लहरको सुरुवाती चरणमा अक्सिजन अभावमा दर्जन बढी विरामीले ज्यान गुमाएपनि अहिले अक्सिजनको अभाव सुनिन छाडेको छ । यद्यपि कोरोनाका गम्भीर विरामीको निको हुने दर भने न्यून छ । किशोर, युवा र बयस्क उमेरका विरामीले जिल्लामा ज्यान गुमाइरहेका छन । शुक्रबार मात्र २५ र २३ बर्षीय किशोर किशोरीको उपचारको क्रममा निधन भएको थियो ।

कोरोनाको जोखिम अझै कायम रहेकाले लकडाउन कति समय लम्बिन्छ अझै भन्न सकिने स्थिति नरहेको स्थानीय प्रशासनले जनाएको छ । १८ जेठदेखि थपिएको चौथो चरणको लकडाउन पछाडि जिल्लाको अवस्था हेरेर थप निर्णय लिइने प्रशासनको भनाई छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  ८ : ३८ बजे