५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

संवैधानिक इजलास २३ गतेसम्मका लागि स्थगित



काठमाण्डौ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठन भएको संवैधानिक इजलास आउँदो २३ गते आइतवारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको घोषणा गरेपछि सुनुवाइ स्थगित भएको हो ।

इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले प्रश्न उठे पनि इजलास नछोड्ने बताएपछि कार्की र भट्टराईले अलग हुने घोषणा गरेका हुन् । दुई न्यायाधीशले इजलास छोडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अब वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने बताउनुभएको छ ।

न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएपछि विवाद हुँदै आएको थियो । रिटको सैद्धान्तिक विषयमै छलफल हुन नसकेपछि सर्वोच्च बारका पदाधिकारीले आज प्रधानन्यायाधीशसँग छलफल गरेका थिए । छलफलमा प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास पुनर्गठन गर्ने सहमति जनाउनुभएको थियो ।

वरिष्ठता क्रमअनुसार गठन हुने इजलासमा कुनै कारण माथिल्लो वरीयताका न्यायाधीशले बस्न अस्वीकार गरेमा अर्को वरिष्ठता क्रमअनुसार गठन गर्न प्रधानन्यायाधीश राणा सहमत हुनुभएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिनुभयो ।

यो सहमतिअनुसार अबको संवैधानिक इजलास गठन भएमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहनेछन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  २ : २२ बजे