८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोरोना भाइरस खोपः चीनको सिनोभ्याक खोपले पनि पायो डब्ल्यूएचओको अनुमति



काठमाण्डौँ ।

विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।

अठार वर्ष माथिकालाई दिन मिल्ने

सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।आपत्‌कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्ल्यूएचओले जनाएको छ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ।सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो।

कोभ्याक्सलाई राहत

सिनोभ्याकका अनुसार उसले स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोप लगाइसकिएको छ । सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ । अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुनेछ ।

डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ। भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन । गत महिना डब्ल्यूएचओले चीनको सिनोफार्म खोपलाई पनि अनुमति दिएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८ बुधबार ००:००  ७ : ३५ बजे