६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

ओली तत्काल नसच्चिए अलग पार्टी बनाउने जनसंगठनहरुको सामूहिक घोषणा



काठमाडौं ।
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टी विधान बिपरीत भएका निर्णय सच्याउन अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । बिहीबार १७ जनसंगठनका प्रमुखले संयुक्त वक्तव्य जारी गर्दै फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन पनि माग गरेका छन् ।

तर ओली एमालेको नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गर्दै पार्टी र कम्युनिष्ट आन्दोलन बिसर्जनतिर लागेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । पार्टी नेताहरुलाई अवैधानिक ढंगले निष्कासन गरिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गर्दै फिर्ता लिन माग गरेका छन् ।

‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ । यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

तर यदि एमाले पार्टी संरचना, विधान र नेतृत्व २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिइएको छ ।

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

१८ जेठमा ओली निकट जनसंगठनहरुले पनि संयुक्त वक्तव्य जारी गरेर प्रधानमन्त्री र सरकारका गतिविधि विपरीत संलग्न नेताहरुलाई निष्कासनको माग गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७८ बिहिबार ००:००  ५ : ०५ बजे