१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विश्वकप छनोटः नेपाल र जोर्डनको खेल आज, जित्ने आशामा प्रशिक्षक



काठमाडौं ।

फिफा विश्वकप-२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९ः४५ बजे सुरु हुनेछ ।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको लक्ष्य जित निकाल्ने रहेको बताईसकेका छन् ।

हरेक खेल सुन्यबाट सुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ । हाम्रो लक्ष्य सुरुबाट खेल जित्ने छ । प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ । अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रने छ । हामीले जोर्डनका लागि त्यतिनै तयारी गरेका छौं । जति ताईपेविरुद्ध गरेको थियौं ।’ उनले भने ।जोर्डन पनि नेपाललाई हराएर विश्वकपमा छनोट हुने आशा जीवित राख्न चाहन्छ । जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टिमको खेलमा निकै फरक आएको बताए ।

‘सबैको अपेक्षा छ, हामीले तीन अंक लिन्छौ भनेर तर फुटबलमा जे पनि सम्भव छ । मैले नेपालले ईराक र ताईपेविरुद्ध खेलेको हेरेको छु । तर उनीको स्तर र खेल्ने शैली पुरै परिवर्तन भएको छ ।’ उनले भने । छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

हेड टु हेड

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो । जोर्डनका हसन अब्देल फाथले चार गोल गरेका थिए । तर, २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १-१ गोलको बराबरीमा रोकेको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो । दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेपछि नेपालले बराबरी खेलेको थियो । जोर्डनका अल मुर्जनले गोल गरेका थिए ।

पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३-० ले पराजित भएको थियो । जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक-एक गोल गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ६ : ०८ बजे