१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गण्डकीमा एमालेको सरकार ढल्यो, पाएनन् गुरुङले विश्वासको मत



पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन् । बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढलेको छ ।

मुख्यमन्त्री गुरुङको विश्वासको प्रस्तावको पक्षमा बैठकमा उपस्थित ५८ सांसदमध्ये २७ मत पर्‍यो । यस्तै, विश्वासको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । राष्ट्रिय जनमोर्चाका एक जना भने तटस्थ बसे ।

मुख्यमन्त्री गुरुङलाई सरकार टिकाइराख्न ३१ मत कायम राख्नु पर्दथ्यो । तर, उनका पक्षमा २७ सांसदले मात्रै मत दिए । ६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र एक जना स्वतन्त्र सांसद छन् ।

विश्वासको मतको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसद उभिए । २६ वैशाखमा मुख्यमन्त्रीबाट राजीनामा दिएका गुरूङ विपक्षी गठबन्धनले सरकार बनाउन नसकेपछि ठूलो दलको नेताको हैसियतले २९ वैशाखमा दोस्रोपटक मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : ०५ बजे