१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

उद्धार र राहतका काम प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग



काठमाडौं ।

विपक्षी पाँच गठबन्धनका शीर्ष नेताहरुले बाढी, पहिरो तथा डुबान प्रभावितको उद्धार, उपचार तथा राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति जारी गरी नेताहरुले जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन माग गरेका हुन्।

सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार देखिएको आरोप नेताहरुले लगाएका छन्। ‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ,‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं।’ यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्‍याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आग्रह गरिएको छ।

विज्ञप्ति जारी गर्नेहरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा कि उपाध्यक्ष दुर्गा पौडेल छन्।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ४ : २० बजे