७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दै



काठमाडौं ।
पालिकाले आज आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा प्रस्तुत गर्दैछन् । ७ सय ५३ पालिकामध्ये कतिपयले यसअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केहीले अहिलेसम्म पूर्ण तयारी गर्न सकेका छैनन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आउँदो वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । पालिकाले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै पालिकालाई आउँदो वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र पालिकाले असार १० गतेभित्र नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

संघ र प्रदेश सरकारले पालिकालाई समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । आउँदो वर्षको बजेटमा पालिकाले कोरोना महामारी नियन्त्रणसँगै यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएका छन् । यो बजेट पालिकामा निर्वाचित जनप्रतिनिधिको अन्तिम वर्षको बजेट पनि हो ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ९ : १९ बजे