२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

महाधिवेशन आयोजक कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बस्ने



काठमाडौं ।

बुधबार बस्ने महाधिवशेन आयोजक कमिटीको बैठकबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकको एजेन्डा तय गर्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए।

बुधाबार बस्ने आयोजक कमिटी बैठकले केन्द्रीय कमिटी ब्युँतिएको घोषणा गर्ने स्रोतको दाबी छ।

बुधबार महाधिवेशन आयोजक कमिटी विघटन हुने र २०७५ जेठ २ को केन्द्रीय कमिटी कार्यान्वयनमा आउने प्रधानमन्त्री ओलीनिकट एक केन्द्रीय सदस्यले बताए।

२०७५ जेठ २ मा हाम्रो पार्टीमा जुन कमिटी सक्रिय थियो। त्यही कमिटीअनुसार अघि बढ्ने निर्णय हुन्छ। पदाधिकारी पनि कायम हुन्छन्,ती केन्द्रीय सदस्यले भने,जो-जो सहभागी हुन्छन् उनीहरू कमिटीमा आवद्ध हुन्छन्। नआउनेहरू स्वतस् नआएको भनेर बुझ्ने त होला नि।

एमालेको केन्द्रीय कमिटी ब्युँताउने तयारी भए पनि त्यसको मोडालिटी तय भइनसकेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
सर्वोच्च अदालतले पार्टीको नाममात्रै फेर्न भनेको हो। एकतालाई खारेज गरेको होइन। त्यसैले २०७५ जेठ ३ गतेको एकता प्रक्रियामा सहभागीहरू पनि पार्टीको कमिटीमा रहन्छन्,उनले भने,पार्टीको नाम एमाले भए पनि हिजोको एमाले होइन। यो एकतापछिको एमाले हो।

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिएपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूको मात्रै बैठक बोलाउने गरेका छन्। ओलीले एमाले केन्द्रीय कमिटी विघटन गरेर दसौं महाधिवेशन आयोजक कमिटी गठन गरेका छन्।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले २०७७ जेठ २ को संगठनात्मक संरचनामा पार्टीलाई लैजानु पर्ने अडान राख्दै आएका छन्। तर ओलीले खनाल-नेपाललगायतका ११ जना सांसदलाई पार्टीबाट निकालेका छन्।

जेठ २७ गते सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेपछि केन्द्रीय कमिटी ब्युँताउन ओलीमाथि दबाब परेको छ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  १ : ०० बजे