३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

माओवादीद्वारा आज पनि प्रदेशसभा बैठक अवरुद्ध



मोरङ ।

प्रदेश १ को विपक्षी दल माओवादी केन्द्रले प्रदेशसभा बैठक दोस्रो दिन मंगलबार पनि अवरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आइतबार पनि भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रले अवरुद्ध गरेको थियो ।

सभामुख प्रदिपकुमार भण्डारीले सदन सुरु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अवरुद्ध गरेका थिए । सदन अवरुद्ध गरेपछि सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दासमेत नबसेपछि आउँदो २० गते साढे १२ बजेसम्मका लागि सदन स्थगित गरेका छन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नुपर्ने र सदनको रेकर्डबाट उनको भनाइ हटाउनुपर्ने माग गरेका छन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिँदै मन्त्री गुरुङलाई कमिसन खानेलगायतको आरोप लगाउँदै आलोचना गरेका थिए ।
प्रदेशसभा सदस्य खड्काले लगाएको आरोपको खण्डन गर्दै मन्त्री गुरुङले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सदन अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १५ असार २०७८ मंगलबार ००:००  ३ : १२ बजे