१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अतिरिक्त समयमा स्विडेनलाई हराउँदै युक्रेन क्वाटरफाइनलमा



एजेन्सी ।
स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २-१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।

अतिरिक्त समयमा जानु अघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाएका थिए । यार्मोलेन्कोको पासमा जिन्चेन्को गोल गरेका थिए ।

तर, खेलको ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्विडेनलाई १-१ को बराबरीमा ल्याए । उनले इसाकको पासमा गोल गरे । यस्तै खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

जितसँगै युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोलि बनेको छ । यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन भने बाहिरिएको छ ।

अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २-० ले हराएर यस अघि नै अन्तिम आठमा पुगिसकेको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ६ : १० बजे