१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

शिवराजले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढायो



दीपक खड्का, शिवराज ।
कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीलाई पनि सम्बोधन गरेको छ । संघीय सरकारले घोषणा गरेअनुसार शिवराज नगरपालिकाले सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ छुट्याएको छ ।

विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन स्थानीय तहले नियुक्त गरेका स्वयंसेवक शिक्षकको समेत २ हजार रुपैयाँ वृद्धि गरेको शिवराज नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाका अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए । शिवराज नगरपालिकाले अस्थायी तथा करार कर्मचारीको सामाजिक सुरक्षा कोषका लागि २० लाख रुपैयाँ विनियोजन गरेको नगर उपप्रमुख शिवकुमारी थारुले बताइन् ।

शिवराज नगरभित्र सामुदायिक विद्यालयमा कार्यरत ६२ जना शिक्षक, ११ कर्मचारी र कार्यालय सहयोगी ६३ जना गरी १३६ जनाको तलब वृद्धि भएको विश्वकर्माले बताए । शिक्षा, युवा तथा खेलकुदमा ३ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख थारुले जानकारी दिइन् ।

शिवराज नगरपालिकाले स्वयंसेवक शिक्षकका लागि पोसाक भत्तासमेत विनियोजन गरेको छ । शिक्षा शाखाले कर्मचारीको सेवा–सुविधा एवं वृत्ति विकासमा २ करोड, आधारभूत र माध्यमिक शिक्षा कार्यक्रमअन्तर्गत ३ लाख ३९ हजार, विद्यालयको भौतिक सुविधा विस्तारमा १९ लाख र गुणस्तरीय शिक्षाका लागि क्षमता वृद्धि कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन गरेको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।

शिवराजले सामाजिक विकास नीतिअन्तर्गत शिक्षा, युवा तथा खलेकुदमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आधारभूत तहको शिक्षा अनिवार्य गरेर सबै विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा पहुँच, सबल र प्रतिबद्ध शिक्षक खुसी विद्यार्थी र उत्कृष्ट सिकाइ उपलब्धि योजना नगरपालिकाले सार्वजनिक गरेको छ ।

बच्चाको टिफिनमा खाजा आमाको हातमा पैसा, शिक्षक सिकाइ क्रियाकलापमा डिजिटल प्रविधि प्रयोग गरी शिक्षकलाई प्रोत्साहन, एक विद्यार्थी एक फूल बिरुवा अभियान सञ्चालन गरिने भएको छ । सीमान्तकृत, अति विपन्न तथा अपांगता भएका बालबालिकालाई विद्यालयमा प्रदान गरिएका सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रारम्भिक बाल कक्षाका सहयोगी विद्यालय कर्मचारी तथा स्वयंसेवक शिक्षकलाई उत्साहित गर्न थप प्रोत्साहन अनुदान उपलब्ध गराउने नगरपालिकाको योजना छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ६ : ५८ बजे