५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्यानडाको आदिवासी आवास क्षेत्रमा १८२ जनाको चिहान भेटियो



एजेन्सी ।

क्यानडाको आदिवासी आवास क्षेत्रमा १८२ जनाको चिहान भेटिएको छ। ब्रिटिस कोलम्बिया राज्यस्थित आदिवासी क्षेत्रको पूर्व आवासीय विद्यायल नजिक १८२ जनाको कंकालको अवशेष भेटिएको हो। सो कंकाल आवासीय विद्यायलयका विद्यार्थीहरुको हो वा होइन भन्ने यकिन भएको छैन। तर पछिल्लो समय यस्तो खालका चिहानहरु भेटिने क्रममा यो पछिल्लो घटना बनेको छ। चिहानहरु भेटिएपछि आक्रोश चर्को बनेको छ। जुलाई १ मा क्यानडा डे मनाइरहँदा केहीले सो दिनको बिदा रद्द गर्न पनि माग गरेका छन्। अनुसन्धान जारी रहेकाले देशका विभिन्न स्थानमा थप चिहानहरु भेटिन सक्ने आदिवासी नेताहरुले बताएका छन्।

आदिवासी केटुनाक्सा नेशनको एक सदस्य रहेको लोअर कूटनेय ब्याण्डका प्रमुख जेशन लुइले भनेका छन्, ‘यस्तो परिस्थितिका लागि कोही पनि कहिल्यै पूर्ण रुपमा तयार हुँदैन।’ केटुनाक्सा नेशन अन्तर्गतका आदिवासीहरुले चिहान खोजीका लागि ग्राउण्ड–पेनिट्रेटिङ्ग टेक्नोलोजिको प्रयोग गरेका हुन्। उनीहरुले ब्रिटिस कोलम्बियाको क्रान्ब्रूक नजिक रहेको पूर्व सेन्ट युजिन्स मिसन स्कूल नजिक सामूहिक चिहान भेट्टाएका हुन्।

सो मिसन स्कुल क्याथोलिक चर्चको मातहतमा सन् १९१२ देखि सन् १९७० दशकको सुरुसम्म सञ्चालनमा थियो। आदिवासी युवाहरुलाई बाध्यकारी रुपमा समाजमा घुलमिल गराउनका लागि भन्दै क्यानडा सरकारले स्थापना गरि धार्मिक समूहहरुले सञ्चालन गरेका १३० भन्दा बढि आवासीय स्कूलहरु सञ्चालनमा थिए १९ औँ र २० औँ शताब्दीमा। तर अहिले कंकाल फेला परेको चिहान क्षेत्र सन् १८६५ देखि प्रयोग हुँदै आएको हो। गएको मे मा २१५ जना आदिवासी बालबालिकाको चिहान ब्रिटिस कोलम्बियाको काम्लूप्समा भेटिएको थियो। यस्तै गएको हप्ता सास्कात्चेवानमा पूर्व विद्यालय क्षेत्रमा ७५१ जनाको कंकाल भेटिएको थियो, जसमा अधिकांश बालबालिका थिए।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  १२ : २१ बजे