५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उद्धार र राहतमा जुट्न गृह मन्त्री पौडेलको निर्देशन



काठमाण्डौ ।

उपप्रधान एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा आज बसेको विपद् सम्बन्धी बैठकमा उपप्रधान तथा गृह मन्त्री पौडेलले देशका विभिन्न ठाउँमा वर्षाका कारण भइरहेको जोखिमलाई विशेष ध्यान दिएर आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले विपदका कारण जोखिममा परेकालाई तत्काल उद्धार र राहत प्रदान गर्न सरकारले सम्भव भएका सबै प्रयास गर्ने भन्दै प्रभावकारी र नतिजामुखी भएर काम गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । राहत र उद्धारका लागि अन्तर–मन्त्रालय र विभिन्न निकायबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उहाँले कोही छुट्ने र कोही दोहोरिने स्थिति सिर्जना नहुने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोषमा पाँच अर्बभन्दा बढी रकम रहेकाले राहत र उद्धारमा स्रोतको कमी नहुने बताउनुभयो । उहाँले क्षति, उद्धार र राहतमा भएका कार्यहरू, बन्द भएका सेवा सञ्चालन, प्रभावकारी नतिजाका लागि गर्नुपर्ने कार्यहरू लगायतलाई समावेश गरेर एकीकृत योजना ल्याउने बताउनुभयो । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी पहिरो लगायतले पुर्‍याएको क्षति र नोक्सानीको यकिन विवरण र आर्थिक लागत निकाली पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरू अघि बढाउने तयारी भएको छ ।

प्रकाशित मिति : १७ असार २०७८ बिहिबार ००:००  २ : ३० बजे