९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

क्रियाशील सदस्य छानबिनबारे जानकारी लिन धर्मशाला पुगे रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य छानबिनबारे चासो राखेका छन् । शनिबार गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामप्रति चासो राखेका हुन् ।

समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका थिए । उनले समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीलाई विवादरहित ढंगले टुंगो लगाउने काम गरिरहेको नेता पौडेललाई जानकारी गराएका थिए ।

‘समितिमा जति पनि उजुरी परेका छन्, त्यसमा कुनै विवाद नगरी हामीले सहमतिमा टुंगो लगाउने गरेका छौं,’ संयोजक लेखकले भने, ‘अब असारभित्र हामी बाँकी जिल्लाको काम पनि टुंग्याउँछौं ।’

नेता पौडेलले समितिको कामको प्रशंसा गर्दै निष्पक्ष रुपमा सदस्यता टुंग्याउन आग्रह गरे । ‘तपाईंहरुले मेहनत गर्नुभएको छ, अहोरात्र खटेर काम गर्नुभएको छ, निष्पक्ष रुपमा काम गर्नुस्,’ पौडेलले भने, ‘महाधिवेशन समयमै गर्ने जिम्मा तपाईंहरुको काँधमा आएको छ ।’

नेता पौडेलले सदस्यता छपाई, कम्युटरमा सदस्यताको नाम इन्ट्रीलगायतका कामको निरीक्षण गरेका थिए । कांग्रेसले भदौ १६–१९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ । १२ साउनदेखि स्थानीय अधिवेशन सुरु हुँदैछ ।

प्रकाशित मिति : २६ असार २०७८ शनिबार ००:००  ७ : ३० बजे