१५ दिनपछि परिवारले बुझे सुजिताको शव, मृत्युको रहस्य अझै खुलेन


चितवन ।
मृत भेटिएकी चितवन राप्ती नगरपालिकाकी सुजिता भण्डारीको शव परिवारले १५ दिनपछि बुझेका छन् । स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

तर, सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि परिवारले भण्डारीको शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

शव परीक्षणको सबै प्रक्रिया भइसकेकाले परिवारले बुझेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको गहिरो रूपमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । गत असार ११ गते घरबाट निस्किएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घरबाट निस्केको करिब ६ घण्टापछि उनले आफू अपहरणमा परेको भन्दै दिदिसँग मोबाइलमा कुराकानी गरेकी थिइन् । वेपत्ता सुजिताको शव फेला परेपछि हत्या भएको आशंका गरिएको थियो । पोष्टमाटर्मको प्रारम्भिक रिपोर्टमा कुनै तथ्य फेला नपरेपछि भिसेरा परीक्षण थालिएको थियो । तर, भिसेरा परीक्षणको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

स्थानीय स्रोतका अनुसार उनको आजै देवघाटमा दाहसंस्कार गरिनेछ । सुजिताको शव अहिले चितवन लगिँदै छ । प्रहरीले घटनाको तथ्यबारे केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस