२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

गलत गतिविधि रोकेर एकता प्रस्ताव अघि बढाउन माधव पक्षको आग्रह



काठमाडौं ।
नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षबाट भइरहेका गतिविधिप्रति खेद प्रस्ताव पारित गरेको छ ।
ओली पक्षबाट स्पष्टीकरण सोधिएको र ओलीनिकटबाट नाराबाजी तथा पुतला दहनका गतिविधि भइरहेको अवस्थामा आज बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले खेद प्रस्ताव पारित गरेको हो । नेपाल पक्षबाट पारित प्रस्तावमा सबै अराजनीतिक गतिविधि रोकेर पार्टी एकता अघि बढाउन ओलीको ध्यानाकर्षण गरिएको छ ।

“एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भइसकेको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्ने, पुतला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप स्वविवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदलाई आतंकित पार्ने र उनीहरुविरुद्ध नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ,” नेपाल समूहले पारित गरेको प्रस्तावमा भनिएको छ, “यस्तो गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताका कामलाई गम्भीरतापूर्वक अघि बढाउन यो बैठक अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गर्दछ ।”

ओली पक्षले अहिले जारी राखेका गतिविधिले एकता प्रक्रियामा भाँजो हाल्ने निष्कर्ष बैठकले निकालेको थियो । माधव नेपाल पक्षको बैठक जारी रहँदा ओलीले सोधेको स्पष्टीकरणपत्र पुर्‍याइएको थियो । नेपाल पक्षको बैठकले भने पार्टी एकता कायम राख्न सबैजना जिम्मेवार हुने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  ५ : १४ बजे