१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

प्रकाशकीयः निरन्तरताको ५ बर्ष



मायादेवी मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित मायादेवी अनलाइन डटकम डिजिटल पत्रिका आजबाट चौथो बर्ष पार गरी पाचौं बर्षमा प्रवेश गरेको छ । मायादेवी अनलाइनको पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा हृदयदेखि शुभेच्छा एवं बधाई दिन चाहन्छौं ।

हामीले मोफसलमा रहेर अनलाइन पत्रिकाको अभ्यास गर्न थालेको आधा दशक भएको छ । महामानव गौतमबुद्धको क्रिडास्थल कपिलवस्तुमा प्रधान कार्यालय राखेर हामीले देशविदेशका सूचना सन्देशलाई निरन्तर रुपमा प्रकाशन गर्दै आइरहेका छौं । हामीले प्रकाशन गर्ने सूचना सन्देशले हाम्रा आम पाठक वर्गको मन जितेको छ भन्ने अपेक्षा लिएका छौं ।

५ बर्ष आफैमा कम समय रहे पनि अनलाइन मिडियालाई निरन्तरता दिनु सामान्य कुरा होइन् । त्यसको प्रत्यक्ष अनुभूति हामीलाई छ । सूचना प्रविधिले विश्वमा तहल्का मच्चाईरहेको बेला अहिलेको युगले माग गरेको अनलाइन पत्रिकारिता मार्फत हामी पाठक वर्ग सामु होमिएका थियौं । सयौं भीडमा होमिदा आफ्नो पहिचानलाई स्थापित गर्न कम चुनौती थिएन । यद्यपि हजारौं पाठक बर्गले सुरुवाती चरण देखि नै हामी प्रति देखाउनुभएको सहानुभूतिले निर्भिकता पूर्वक काम गर्न हौसल्ला मिलेको साँचो हो । यदि पाठक बर्गको अपार माया हुन्थेन भने, पक्कै कुहिरोमा हराएको काग झै हुन बेरै थिएन ।

हामीले पस्कने सामग्रीले पाठकको मन जित्न पुग्दा हामी प्रति तपाईहरु पाठकको हौसला मिलेको हाम्रो ठम्माई छ ।

हामीले आफ्नो ५ बर्षे यात्रामा थुप्रै उकाली–ओरोली पार गरेका छौं । स्थापना कालमा जुन जुन साथीहरुबाट अनलाइन पत्रकारीताको अभ्यास गरेका थियौं, ती साथीहरु आजसम्म पनि निरन्तर रहनुभएको छ । सुखत पक्ष यही हो । जिल्ला भित्रका दक्ष जनशक्ति हामीसंग छ । जनशक्ति टिकाउन सक्नु नै हाम्रो सम्पत्ति बनेको छ । सुरुवाती चरणमा फिल्ड रिर्पोटिङ मार्फत कतिपय साथीहरुले निकै मेहनत गरेपनि प्राविधिक समस्याका कारण हाम्रो सहयात्राबाट कतिपय साथीहरु छु्टिन पनि पुग्नुभएको छ । आजको दिन उहाँहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छौं ।

हामी पाँचौँ बर्ष गाँठ मनाइरहँदा स्वभावैले भन्न सक्छौँ, लुम्बिनी प्रदेशमा अनलाइन पत्रकारिताको माहौल खासै नभएको स्थितिमा हामी उदायौँ । हामीले कपिलवस्तुजस्तो जिल्लाबाटै प्रदेशको नेतृत्व गर्‍यौँ । फाट्टफुट्ट रुपमा अनलाइन पत्रकारिता रहे पनि ब्यवसायिक रुपमा भने प्रदेशमा हामीले नै लिड गरेका थियौँ । हाम्रो निरन्तरताको सिको गर्दै अहिले प्रदेशका प्रत्येक जिल्लामा अनलाइनहरु शुभारम्भ भएका छन् । अझै कपिलवस्तुको कुरा गर्ने हो भने त हामी जिल्लाभित्रको पहिलो अनलाइन हौं ।

सूचना, सञ्चार र प्रविधिको कुरा गरेपनि यसको पहुँच आम जनता माझ अझै पुग्न सकेको छैन् । भौगोलिक हिसाबमा सुगमता भएपनि इन्टरनेटको समान पहुँच नहुँदा अनलाइन मिडियाको पहुँचबाट आम पाठक वर्ग लाभान्वित हुन सक्नुभएको छैन् । ५ बर्ष पहिले भन्दा अहिले पक्कै पनि इन्टरनेटको पहुँचमा भने विस्तार भएको छ । जति इन्टरनेटको पहुँचमा विस्तार हुन्छ, त्यति नै अनलाइन पत्रकारिताको स्वाद चाख्न पाठक बर्गले पाउनुहुन्छ । हाम्रा लक्षित बर्ग सामु अझै हामी पुग्न नसके पनि आम सरोकारवाला, जो समाजमा हरेक क्षेत्रबाट अगुवाई गर्नुहुन्छ, उहाँहरु सामु हामी पुगेका छौं ।

इन्टरनेटको पहुँच लक्षित वर्ग सामु पुग्न अझै समाजको आर्थिक रुपान्तरणमा बढोत्तरी आउनु पर्छ । गाउँ गाउँमा इन्टरनेटको विस्तार हुनुपर्छ । इन्टरनेट राख्ने सामाथ्र्य सबैमा हुनुपर्छ । यद्यपि अनलाइन मिडियामा लेखिएका समाचार कतिपय छापा र इलेक्ट्रोनिक्स माध्यमबाट प्रकाशन/प्रशारण हुने भएकाले कुनै न कुनै माध्यमबाट हाम्रा पाठक वर्गसम्म समाचार पुगेको छ भन्ने हाम्रो अपेक्षा छ ।

पछिल्लो दुई बर्ष कोरोना कहरबाट देश थलिएको छ । लामो समयको लकडाउनको मारमा आम नेपाली दाजुभाई पर्नुभएको छ । कोरोनाको मारमा सञ्चार माध्यम पनि कम्ता परेनन् । यसको प्रत्यक्ष मारमा मायादेवी अनलाइन पनि परेको हो । तर, समस्याका बाबजुत हामीले निरन्तर रुपमा अनलाइनलाई अपडेट गरायौं । मिडिया खुल्नु भन्दा निरन्तरता दिनु ठूलो कुरा हो । अझ अनलाइन मिडिया खुल्ने र बन्द हुने गरिरहेका छन् । यस्तो बेला हामी दैनिक रुपमा सक्रिय रहनुले हाम्रो निरन्तरता नै अमूल्य सम्पत्ति बनेको छ ।

अन्त्यमा, हामीले अझै धेरै गर्नु छ । सामाचारमा अझै गुणस्तरियता भर्नु छ । समाजमा दबिएका आवाजलाई अझै माथि उठाउनु छ । गरिखाने बर्गको सारथी बन्नु छ । भष्ट्राचार प्रति निर्मम बन्नु छ । सुशासनको सवलिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुछ । सरकारी काममा हुने ढिलासुस्ती प्रति खबरदारी गर्नुछ । राम्रो काम गर्ने माथि हौसला बढाउनु छ । समृद्ध देश, सुखी नेपालीको महान आकांक्षामा संगसंगै यात्रा गर्नुछ । अबका दिनमा आम समुदायको भरपर्दो अनलाइन मिडियाको रुपमा दरिलो गरी आफुलाई उभ्याउनुपर्ने छ । अनलाइन मिडियासंगै अब भिडियो माध्यममा सक्रियता देखाउनुपर्ने छ ।

समग्रतामा अनलाइन मिडिया प्रति पाठकले प्रश्न गरिरहेको बेला हामी प्रश्नरहित आलोचनात्मक चेतका साथ अगाडी बढ्ने प्रण गर्दछौं । फेरि पनि हाम्रा सम्पूर्ण सहकर्मी साथीहरू, पाठकवृन्द, विज्ञापनदातालगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरूलाई ५ औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहछौं । धन्यवाद ।

प्रकाशित मिति : ७ श्रावण २०७८ बिहिबार ००:००  ८ : १९ बजे