८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय किर्तिमान, जुडोमा सोनिया पराजित



काठमाडौं ।
टोकियो ओलम्पिकमा सहभागि नेपालका कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । कल्पनाले सुटिङ्गमा महिला तर्फ छनोट चरण अन्तर्गत १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोड्नुभएको छ । उहाँले राष्ट्रिय किर्तिमान बनाएपनि फाइनल चरणमा भने पुग्नबाट बञ्चित हुनु भएको छ । ५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहनुभएको छ ।

छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो । नेपालका जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । आज भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित हुनुभएको हो ।

१९ वर्षका सोनिया विश्व वरीयताको नवौं स्थानमा रहनुभएका रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित हुनुभएको हो । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाउनुभएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ९ : ३३ बजे