४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अलमुताइरी र पंकज आरोपप्रत्यारोपबारे छलफल गर्न आज एन्फाको वैठक



काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक आज (शुक्रबार) बस्दैछ ।एन्फा कम्प्लेक्समा बस्ने आकस्मिक बैठक अपरान्ह ४ बजेका लागि डाकिएको छ ।

बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि लगाईएको आरोपबारे छलफल हुनेछ ।

मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गरेका थिए । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका थिए ।

नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए । यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए ।

यस्तै बैठकमा नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ ।दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड(१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  ८ : २० बजे