४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

यो सरकारलाई गल्ती गर्ने छुट छैनः गगन थापा



काठमाण्डौ ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँ कतै नचुक्न पनि आग्रह गर्नुभयो । विपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केपी ओलीले यो गरेनन् त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ रु भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

नेता थापाले भन्नुभयो, ‘कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ रु भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशङ्का उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्दछ ।’

नेता थापाले सरकारलाई सफल बनाउन सिङ्गो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो । फरक प्रसङ्गमा उहाँले पार्टीको आसन्न १४ औँ महाधिवेशनको मिति तल–माथि नगर्न पार्टी नेतृत्वलाई दबाबसमेत दिनुभयो । ‘पार्टीको महाधिवेशनको तिथि–मिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले पाँच वर्षपछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ’, नेता थापाले भन्नुभयो, ‘विधानको त्यो व्यवस्थाअनुसार अब महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले उल्लङ्घन गर्न मिल्दैन ।’

नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पार्नुभयो । पार्टीको विधानले केन्द्रीय कार्यसमितिबाट त्यो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधानअनुसार चल्न नसकेको आरोप लगाउँदै उहाँले आपत्ति जनाउनुभयो ।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  २ : ०३ बजे