२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्ल्यूएचओ



काठमाडौं ।
विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य सम्बन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरि पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्ल्यूएचओको भनाइ छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गएको हप्ता ज्यान गुमाएकाहरुको सङ्ख्यामा पनि थोरै वृद्धि भएको डब्ल्यूएचओका अधिकारीहरुले जनाएका छन् । डब्ल्यूएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्ल्यूएचओले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ६ : ३५ बजे