२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सुठौली भन्सारमा पहिलो पटक अर्बको आकडा पार



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको झन्डै दुई गुनाले राजस्व संकलन भएको छ । भन्सारमा गत वर्ष वार्षिक लक्ष्यको १ सय ९३ प्रतिशत राजस्व उठेको हो ।

एक वर्षमा १ अर्ब ५१ करोड २९ लााख राजस्व संकलन भएको भन्सार प्रमुख रमेश खड्काले बताए । गत वर्ष भन्सारलाई ७८ करोड १६ लाख लक्ष्य तोकिएको थियो । गत वर्ष भन्सारमा झन्डै ४८ करोड राजस्व उठेको थियो। भन्सारमा यति धेरै राजस्व सकंलन भएको यो पहिलो पटक हो ।

सबै भन्दा बढी पुस महिनामा १७ करोड २० लाख ५७ हजार ५१५ संकलन भएको थियो । गत साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख राजस्व उठेको भन्सार प्रमुख खड्काले बताए ।

स्तरोन्नती भएको २ वर्षपछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको उनले बताए । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए । कोरोना भाइरसको बेला समेत वार्षिक लक्ष्यको झन्डै दुई सय प्रतिशत हुनु राम्रो संकेत भएको उनले बताए । ‘भन्सारमा राजस्व असुली राम्रो भएको छ, अब यो भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए अझै राम्रो हुन्छ,’ उनले भने ।

जग्गा अभावले भन्सारमा अझैसम्म यार्ड निर्माण हुन नसक्दा मालबहाक गाडीहरु बाटोमै खडा गर्ने गरिएको छ । यसले गर्दा धरै समस्या भएको खड्काले बताए । यस्तै नाकामा क्वारेन्टिनको व्यवस्था नहुँदा समेत धेरै समस्या भएको उनले बताए । भन्सारका लेखापाल मदन पाण्डेयले एक वर्षमा ढेड अर्ब राजस्व उठाएर यो भन्सारले रेकडै कायम गरेको बताए ।

भन्सारमा धान, चामल, गहुँ, मकै, तरकारी तथा फलफूल, कोइला टायल्स र मार्बल पैठारी हुने गरेको छ । २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७८ शनिबार ००:००  ६ : ५१ बजे