२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

थरूहटद्वारा आन्दोलनको घोषणा, रेशम चौधरी रिहा नभए भूमिगत आन्दोलन गर्ने



काठमाडौं ।

जेलमा रहेका रेशम चौधरीलाई जनता समाजवादी पार्टी नेपालले राजनीतिक रुपमा प्रयोग गरिरहेको आरोप थारु अगुवाहरुले लगाएका छन् । थरूहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरूहट थारुवान विद्रोहको ६ वर्ष’ विषयमा आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने थरूहटका अगुवाहरुले टीकापुरमा भएको आन्दोलनले गर्दा धेरै मन्त्री र सांसद भएपनि थारुको समस्या भने ज्यूँकात्यूँ रहेको आरोप लगाए ।

रेशम चौधरी रिहाइ अभियानमा लागेका सुरेन्द्र चौधरीले रेशमको नाममा राजनीति भएको भन्दै आक्रोश पोखे । चौधरीले भने, ‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीतिक भइरहेको छ ।’ जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भएपनि कुनै उपलब्धी हुन नसकेको बताए । निर्वाचन आयोग जसपा नेपालको आधिकारिकताको मतदान हुँदा रेशम चौधरीको तानातान हुँदा आफूलाई आश्चर्य लागेको पनि बताए । उनले भने, ‘जसपालाई रेशम चौधरी किन चाहिएको कुरा निर्वाचन आयोगमा प्रष्ट भयो, संसदमा उहाँको मत नचल्ने तर निर्वाचन आयोगमा मत चल्ने यो कुराले रेशम चौधरी उनीहरुलाई किन चाहिएको कुरा पुष्टि भएको छ ।’

थारुहरुले शान्तिपूर्ण तरिकाले आफ्नो अधिकार लिन चाहेको भन्दै उनले चौधरीलाई नछाडिए थारु युवाहरु भूमिगत आन्दोलन गर्न तयार रहेको उनले चेतावनी दिए । उनले भने, ‘हामी शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं, तर रेशम चौधरीलाई छाडिएन भने अर्को तरिकाको आन्दोलन गर्न पनि तयार छौं ।’ अर्का थारु अगुवा चन्दन चौधरीले पनि टीकापुर आन्दोलनलाई धेरै नेताले प्रयोगमा ल्याएको धारणा राखे । उनले भने, ‘संसदमा थुप्रै थारु छन्, मन्त्रीहरु पनि थिए तर थारुको बारेमा कसैले केही बोलेनन्, बरु एमसीसीको बारेमा बोले, अन्य विषयहरु उठाए तर थारुको मुद्दाबारे, रेशम चौधरीको रिहाइ बारेमा बोलेनन् ।’

नागरिक आन्दोलनका अगुवा युग पाठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीले चौधरीको रिहाइ गर्ने भनेर भ्रम मात्रै छरेको बताए । यसैगरी पूर्व राजदूत विजयकान्त कर्णले पनि रेशम चौधरीलाई छाड्ने आशा ओलीबाट गर्नु नै आफैमा हास्यास्पद कुरा रहेको टिप्पणी गरे । उनले भने, ‘जो व्यक्ति संघीयता, लोकतन्त्रलाई समाप्त पार्ने कार्यमा लागेका थिए, त्यो व्यक्तिले रेशम चौधरी जस्ता नेतालाई जेलबाट रिहा गराउँछन् भने कुरालाई कसरी विश्वास गर्ने रु त्यो भ्रमित कुरा मात्र थियो ।’ टीकापुर घटनामा दोषी देखाइ थुनामा राखेकाहरूलाई रिहा गराउनका लागि आन्दोलनबाहेक अरु केही उपाय नरहेको पनि उनले धारणा राखे ।
थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८ मंगलबार ००:००  ४ : ५६ बजे